काठमाडौं । मनोहरा युनाईटेड क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा सानोगौचरण युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनोहराले लगातार दोस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मनोहरालाई जित दिलाउन अन्जन लिम्बुले ह्याट्रिक पूरा गरे ।
खेलमा सुरुवाती अग्रता भने सानोगौचरणले बनाएको थियो । खेलको २७ औं मिनेटमा आकाश श्रेष्ठले गोल गर्दै सानोगौचरणलाई १-० को अग्रता दिलाएका थिए ।
तर, अन्जन चम्किएपछि मनोहराले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनोहरालाई खेलमा १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ७३ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनोहरालाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै मनोहरालाई ३-१ को जित दिलाए ।
जितसँगै मनोहराले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा मनोहराले महाबिरलाई हराएको थियो ।
सानोगौचरणको यो लगातार दोस्रो हार हो ।