सुजलसहित ६ खेलाडीद्वारा मछिन्द्रसँग नयाँ सम्झौता

काठमाडौं । पहिलो पटक सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मछिन्द्र फुटबल क्लबका ६ खेलाडीले क्लबसँगको सम्झौता नविकरण गरेका छन् ।
गत सिजनको लिगमा क्लबलाई उपाधि दिलाउन सफल उपकप्तान तथा मिडफिल्डर सुजल श्रेष्ठसहित ६ खेलाडीले मछिन्द्रसँग सम्झौता नवीकरण गरेका हुन् ।
सम्झौता गर्ने अन्य खेलाडीमा मिडफिल्डर विशाल राई, गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डरहरु देबेन्द्र तामाङ, रजिन धिमाल र युवा स्ट्राइकर रेजिन सुब्बा रहेका छन् ।
उनीहरुले क्लबसँग एक वर्षको लागि नयाँ सम्झौता गरेका हुन् ।
मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले आगामी सिजनको लागि ६ खेलाडीसँग नयाँ सम्झौता गरिएको बताए ।
‘आगामी ७७ र ७८ सिजनको लागि हामीले खेलाडीलाई क्लबसँगै राखेको छौं,’ पहिलो पटक मछिन्द्रले लिगको उपाधि जित्दा व्यवस्थापक रहेका श्रेष्ठले खेलपाटीसँग भने ।
राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका सुजलले आगामी सिजनका लागि मछिन्द्रसँग सम्झौता गरेको बताए ।
‘यस सिजन पनि मछिन्द्रबाटनै खेल्ने गरि सम्झौता गरेका छौं,’ नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उपाधि दिलाएका सुजलले खेलपाटीसँग भने ।
यस्तै मछिन्द्रले कप्तान विराज महर्जनसहित अन्य नयाँ खेलाडीसँग समेत सम्झौता नवीकरणको तयारी गरिरहेको छ ।
‘कप्तान विराज सहित अन्य खेलाडीको समेत कुरा भईरहेको छ । केहि दिनमै टुंगोमा पुग्छौं,’ श्रेष्ठले भने ।
रेजिन बाहेक सम्झौता नवीकरण गरेका अन्य ५ खेलाडी हाल राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । उनीहरु आगामी फिफा विश्वकप छनोट खेलका लागि बन्द प्रशिक्षणमा रहेका हुन् ।
यद्दपी फिफा विश्वकप छनोटका बाँकी ३ घरेलु खेल तत्काल नहुने भएको छ । घरेलु खेल तत्काल नहुने भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडी रिलिज गर्ने तयारी गरेको छ ।
एन्फाले खेलाडी रिलिज गर्ने योजना बनाएसँगै मछिन्द्रले समेत मोफसल प्रतियोगितामा सहभागीता जनाउने तयारी गरिरहेको छ ।
सोहि अनुसार मछिन्द्रले खेलाडीसँगको सम्झौता नवीकरण गर्न थालेको हो ।
गत सिजन मछिन्द्रले अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक लिगको उपाधि हात पारेको थियो ।
तर, लिग च्याम्पियन हैसियतले मछिन्द्रले एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने एएफसी कपमा सहभागिता भने जनाउन पाएन ।
एएफसी क्लब लाईसेन्समा मापदण्ड पुरा गर्न नसकेको मछिन्द्रको स्थानमा लाईसेन्स प्राप्त आर्मी क्लबले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
लिगमा मछिन्द्रले १० जित र २ बराबरसहित ३१ अंक जोडेर उपाधि जितेको थियो ।
गत सिजनको लिगमा विशाल राई बी ले ४, देबेन्द्र तामाङ ३, रेजिन सुब्बा २ तथा सुजल श्रेष्ठ र रजिन धिमालले १/१ गोल गरेका थिए ।