पोखरा । नेपाली फुटबलमा चिरपरिचत नाम हो विशाल राई । मिडफिल्डर विशाल नेपाली राष्ट्रिय टिमका नियमित सदस्य हुन् ।
क्लब फुटबलमा मछिन्द्र क्लबको प्रतिनिधित्व गर्ने विशाल एन्फा एकेडेमीको उत्पादन हुन् । घरेलु फुटबलमा उनि विशाल राई 'बी' को नामले चिनिन्छन् ।
झापा शनिअर्जुन नगरपालिका, लक्ष्मीधारामा जन्मिएका विशालले राष्ट्रिय टिमका लागि गोल समेत गरिसकेका छन् । यस्तै राष्ट्रिय टिमबाट उनले अन्तराष्ट्रिय उपाधि समेत हात पारेका छन् ।
नेपालले बंगबंधु गोल्डकप जित्दा विशाल टिममा मुख्य सदस्य थिए । यस्तै १२ औं सागमा स्वर्ण र मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जित्दा उनि टिममा रहेका थिए ।
एएफसी कप छनोटमा फिलिपिन्सविरुद्धको विशालले गरेको गोललाई धेरैले सम्झिने गरेका छन् ।
किनकि विशालको गोल नेपालले फिलिपिन्सविरुद्ध ३५ वर्षपछि गरेको पहिलो गोल थियो । सन् १९८२ मा गणेश थापाले गोल गरे यता नेपालले फिलिपिन्सविरुद्ध गोल गर्न सकेको थिएन ।
घर नजिकैको मैदानमा झुम्रोको बलबाट फुटबल खेल्न सिकेका विशालको फुटबल यात्रा कस्तो छ ?
राष्ट्रिय टिमको तयारीका लागि पोखरा पुगेका विशालसँग खेलपाटीको पोखरा ब्युरोले संवाद गरेको छ ।
विशालसँगको संवाद उनकै शब्दमा ।

कोरोनापछि - ब्याक टु ग्राउण्ड
अप्ठ्यारो धेरै भयो । घरमै ट्रेनिङ गर भन्नुहुन्थ्यो । बाहिर फिल्डमा खेलेजस्तो त हुँदैन । घरमा ७, ८ महिना बस्यौं । आएर खेल्दा केही समय गाहे भयो । शरिर मेन्टेन गरेपनि केहीरुपमा वजन बढेको थियो । फिटनेस थिएन । बल्ल बल्ल २ अढाई महिना भयो प्रशिक्षण सुरु भएको । फिटनेस एउटा स्तरमा आउँदै छ । हामी खेलाडीले सहज महसुस गर्दै गइरहेका छौं । यो ग्यापलाई मेन्टन गर्न समय लाग्यो । अझैपनि गेम नै भनेर प्रतिस्पर्धात्मक खेलेको छैन । खेल खेलेपछि हामी कतिको फिट भयौं भनेर थाहा हुन्छ जस्तो लाग्छ ।
अक्सर प्राकतिक प्रकोपका कारण पनि प्रशिक्षणमा धेरै असर पुग्ने रहेछ । २०७२ सालको भूकम्पले समेत हामीलाई धेरै असर गरेको थियो । त्यतिबेला पनि लामोसमयसम्म लिगहरु आयोजना हुन सकेन । हाम्रो लागि महत्वपूर्ण भनेको लिग हो । अहिले कति खेलाडीले कोरोनाका कारण यस्तै समस्या भोग्नुपर्यो ।
विश्वकप छनौटको तयारी ?
तयारी राम्रो भइरहेको छ । हेरौं अब प्रशिक्षण अनुरुपको प्रर्दशन गर्न सकिन्छ कि नाइ । एन्फाले लामोसमय अन्तरालमा फर्किएका कारणपनि प्रशिक्षणका लागि स्थान परिर्वतन गर्न पोखरा रंगशाला लग्यो । अहिले टिममा नयाँ खेलाडीहरु समेत छनौटको तयारीमा छन् । आफनो स्थानबाट मिहिनेत सबै खेलाडीले गरिरहेका छौं ।
कोरोनापछि नेपाली फुटबल -
फुटबल क्षेत्र मात्र नभइ कोरोनाका कारण खेल क्षेत्रमै असर पुगेको छ । फुटबल क्षेत्रमा अझ क्लब मार्फत खेल्न खेलाडीलाई समस्या पर्छ । क्लबका खेलाडीलाई महत्वपूर्ण भनेको लिग हो । लिगमा भरपर्ने खेलाडीलाई कोरोनाले समस्यामा पार्यो । तर यतिहुँदासम्म सरकारसँग खेलाडीको लागि केही विकल्प वा निश्चित् धारण छैन । यो त रहयो आर्थिक पाटो खेलाडीका लागि स्वास्थ्य उत्तिकै महत्वपूर्ण हुन्छ । खेलाडीको उचित प्रशिक्षण र स्वास्थ्यका लागि पहिल्यैदखि सरकार कमजोर थियो झन कोरोना पश्चात खेलक्षेत्रमा सरकारको साथ र सहयोग निराशजनक छ ।
फुटबलमा नयाँ पुस्ता -
सरकारले खेलक्षेत्रमा चासो दिएको म देख्दिन । एन्फाले हामीलाई अलिकति भएनी चासो दिन्छ त्यसको लागि हामी खेलाडी आभारि हुुनुपर्छ । सरकारले नेशनल खेलाडी भइसकेपछि उसको भविष्य सुनिश्चत छ कि छैन भन्ने कुरा प्राथमिकतामा राख्नु आवश्यक छ ।
नयाँ कमरले हेर्ने भनेको पनि सुनिश्चित् भविष्य नै हो । गोल्ड मेडल खेलाडीले जितौला रे तर त्यसपछि नि ? हामीसँग ४,५ थुप्रै गोल्ड मेडल खेलाडी जो अहिले बाहिर गइसक्नुभयो । एउटा गोल्ड मेडल खेल्ने खेलाडी भविष्य देख्दैन भने अरुले के देख्ला ? मेरो मनमा भएकमो चिन्ता चाहिँ यो हो । खेलाडीको खेल्ने समय सट हुन्छ जस्तो लाग्छ ।
खेल्न छोडेपछि उसको भविष्य के हुन्छ ? म रुचि भएर खेलेको खेलाडी हो । तर अब भने ‘मलाई, हामीलाई’ हेरेर आउने भाइबहिनीहरुले आफनो भविष्य खोज्छन् यसक्षेत्रमा । त्यतिबेला उनीहरुको भविष्य के त ?
यसप्रति सरकारले सोचेर खेलाडीकोलागि सुविधा ल्याउनुपर्यो । सबैलाई सरकारले गर्न नसक्ला तर योगदान पुर्याएका खेलाडीको खेल जीवनपछिको भविष्य सुनिश्चत गराउन त सक्छ ।

निराशा र अन्योल -
एक समय नेपाली राष्ट्रिय टोलीका केही साथीहरुलाई म्याच फिक्सिङको आरोप लागेको थियो । जसले गर्दा सम्पूर्ण नेपाली फुटबल टोली निराशा र अन्योलमा थियौं । त्यतिबेला मलाई मात्र होइन सम्पूर्ण खेलाडीलाई त्यस्तै भएको हुनुपर्छ । मलाई कहिल्यै करिअरको तनावले खेल छोड्न मन लागेन तर त्यतीबेलाको समयमा खेलक्षेत्रबाटै धिकधारी लागेको थियो सो घटनाले । विदेश जानुपर्छ कि भन्ने थोरै सोच नआएको होइन तर पछि हामीले राम्रोपनि गर्यौैं विश्वास पनि जित्यौं ।
पहिलो गोल अनुभव -
मैले बगबन्धु गोल्डकपको सेमिफाइनला गोल हानेको थिए । गोल होनपछि त्यतिबेलानै केही थाहा हुँदैन । पछि गेम सकिन्छ , जितिन्छ अनि ए मैले गोल हाने भन्ने हुन्छ । त्यो समय चाहिँ आनन्द हुन्छ । अझ झन त्यससमय त्यो फष्ट गोल हो भनेर अर्कै आनद्य महसुस भएको थियो ।
समर्थक -
विभागीयबाट खेलेको अनुभव छैन । क्लबबाट मात्र खेलेको छु । म ८ वर्ष जति मनाङबाट खेले त्यसको सर्पोटर पनि धेरै हुहुन्थ्यो । पोखरामा पनि मैले मनाङको सर्पोटर धेरै पाए । त्यसपछि मछिन्द्र आए । अहिले पनि राम्रै हुनुहुन्छ । सबैले सर्पोट गर्नुहुन्छ ।
त्यसरी दर्शकले नमिठो याद त दिनुभएको छैन । तर एकपटक म झापाको मैदानमा खेल्दा मनाङबाट खेलिरहेको थिए । आफनै ठाउँतिर टिम फरक परेर नराम्रो भन्दा नरमाइलो लागेको थियो । नत्र खेलाडीलाई फ्यानहरुले सर्पोट गर्दै राम्रो नराम्रो भन्न पाउनुहुन्छ जस्तो लाग्छ ।
कोही फ्यान स्पेशल पनि हुनुहुन्छ । म अलि कम बोल्छु । कम बोल्ने बानी भएका कारण पनि म त्यती धेरै फ्यानसँग टचमा बस्दिन ।
परिवारको साथ -
सुरुवातमा मलाई परिवारको साथ थिएन । केहीवर्ष मैले आमाबाबा दुबैको सर्पोट पाइन । हामी सबैको परिवार त्यहीँ त होनि छोराछोरी पढेस भन्ने सोच हुन्छ । तर मलाई फुटबल नै मनपथ्र्यो । लुकेर भएनी फुटबल खेल्न जान्थे । पछिपछि परिवारले बुझदै जानुभयो । ‘राम्रै गरेछस्’ भन्नुहुन्छ परिवारले । राष्ट्रिय टिममा परेपछि त झन परिवारले राम्रो सोच्नुभयो ।
यादगार पल - गुच्चा छोडेर सेलेक्सनमा
सायद त्यसबेला म ३ कक्षाको वार्षिक परिक्षा सकेर बसेको थिए । चैत वैशाखको घाम तर बच्चाको समय बिदाको बेला जे भएनी हामी गुच्चा खेल्थ्यौं । त्यो दिनपनि म गुच्चा खेल्न कता पुगेको थिए । साथी लिन आएको रहेछ म घरमा पनि थिईन् । उसले खोजेछ गाउँमा । ‘का गयो यो सेलेक्सन छ’ भन्दै अनि पछि उ मलाई लिन आयो ।
‘जुम तँलाई सरले बोलाएको छ सेलेक्सन छ रे’ मलाई त थाहा थिएन के हो के ? बुटुसुट बोकेर लुकेर गए । सेलेक्सनमा परे मेरो नामपनि आएछ । सरहरु लिन आउनुभएको थियो । ‘त सेलेक्सनमा परिस् अब काठमाडौं जानुपर्छ ’ । त्यो दिन मलाई अचम्म लाग्छ सायद साथी नभएको भए म आज यहाँ हुन्थे जस्तो लाग्दैन । बच्चाको समयमा काठमाडौं जाने एकदम रहर थियो । सानोमा नाम सुन्दा(सुन्दा कहिले जान पाउँछु लाग्थ्यो । एन्फाको सेलेक्सन पछि काठमाडौं पुग्दा रमाइलो लागेको थियो ।

फुटबल बाहेक ?
फुटबल बाहेक उनलाई किताब पढ्न मनपर्छ । उनको मनपर्ने पुस्तकमध्येको एक पुस्तक ‘स्टेफन जिनरको’ जीवनी पनि हो । साथै सेरिज हेर्न रुचाउँछन् । एकेडेमिको उत्पादन भएका कारण उनको लामो समय एकेडेमीमै बित्यो । एकेडेमीमा बसेदेखिको मनमिल्ने साथी मध्येका एक सुजल श्रेष्ठ हुन् ।
हार्डवर्कमा विश्वास राख्ने उनी ‘ट्यालेन्ट’ मात्र केही नहुने बताउँछन् । मान्छेले परिश्रम र मिहिनेत पनि गर्नुपर्ने उनको भनाइ छ । साथै मान्छेले काममा हरेश पनि खान नहुने बताउँछन् । जसको उदाहरण उनी स्वय पनि हुन् । त्यसैले उनले मुस्कुराउँदै भने,‘म आफैं नेशनल टिममा १३ पटकको सेलेक्सनसम्म त परेको थिईन् तर हार्डवर्क वर्कस् ।’