इलाम । ११ औ संस्करणको पवित्रहाङमा कप अन्तरगत महिला फुटबलमा माउण्ड एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी सेमिफाइनलमा प्रबेश गरेको छ ।
इलामको माङसेबुङ गाउँपालिका–५ लारुम्बास्थित आत्मानन्द खेल मैदानमा सञ्चालित प्रतियोगितामा मोरङको सतिसाले एफसीलाई २–१ ले हराउँदै चतराले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको सुरुवाती अग्रता सतिसालेले खेलको पाँचौं मिनेटमा कोपिला लिम्बुको गोलबाट लिएको थियो ।
१६ औ मिनेटमा पवित्रा राईले गोल गर्दै खेल बराबरीमा ल्याइन् ।
दोश्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी रचना राईले ४९ औ मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरिन् ।
खेलको प्लेयर अफ दि वुमन चतराकी पवित्रा घोषित भइन् ।
शुक्रबारनै भएको पहिलो खेलमा खदम स्र्पोटिङ क्लब मोरङलाई टाइब्रेकरमा हराउँदै धरान फुटबल क्लब सुनसरी समेत सेमिफाइनल प्रवेश गर्न सफल रहयो ।
किरात धर्मगुरु आमा साँवा पवित्रहाङमा लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिता बिहिबारबाट सुरु भएको हो ।
प्रतियोगिता अन्तरगत शनिबार सेमिफाईनलका दुई खेल हुनेछ । पहिलो खेल धरान फुटबल क्लब सुनसरी र रोयल स्र्पोटिङ क्लब दमकबीच प्रतिस्पर्धा हुनेछ ।
दोश्रो खेल माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी र एपीएससी माङसेबुङबीच हुनेछ ।