शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘सुन नभएको स्वर्णकाल’

शनिबार, ३० भाद्र २०७५पुरुषोत्तम पौडेल
‘सुन नभएको स्वर्णकाल’
Loading ad...
mustang rice ad

टीएस ठकुरी ।

के सोचें मैले, के भयो अहिले
कसम हाम्रो बिलायो कहाँ,
अल्झाइराख, नलैजाउ टाढामा ।
कुसुम गजमेरका यी पंक्तिमा सजिएको चलचित्र सम्झनाको गीत कालजयी छ । जति सुन्यो, सुनुँसुनुँ लाग्ने । नेपाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीको नाम जस्तै कालजयी, जति सुन्यो सुनुसुनु लाग्ने ।

सबिताले दुई दशकअघि १३ औं एशियाली खेलकुद (सन् १९९८, बैंकक) मा पहिलोपटक देशका लागि रजत पदक जितेर इतिहास रचिन् । कालजयी बन्नुको कारण यही हो । उनको नाम खेलकुद इतिहासमा स्वर्णीम अक्षरले लेखियो । हरेक सच्चा नेपाली खेलप्रेमीको मनमष्तिस्कमा यो नाम बस्न सफल भयो, माथिको गीत जस्तै ।

हालै जाकर्ताबाट सबिताको जस्तै चाँदीको लेपनसहितको पदक पहिरिएर फर्किएका प्याराग्लाइडरहरुको नाम पनि माथि गीत जस्तै कालजयी बन्नेछ । जसरी ६८ बर्षे एशियाड यात्रामा कास्य पदक नै सही, जित्नेको नाम कालजयी बन्यो । इतिहास जित्नेकै लेखिने हो । तसर्थ एशियाडको यात्रामा पदक भेट्नेहरु सबैको नाम स्वर्णीम अक्षरले लेखिसकिएको छ ।

नेपालले १० औं संस्करणदेखि पदक जित्न सुरु गरेको हो । सन् १९८६ को सिओल एशियाडमा पहिलो पटक तेक्वान्दो समावेश गरियो । नेपालले बक्सिङमा चार र तेक्वान्दोमा चार गरी ८ कास्य पदक जित्यो । ११औं एशियाड(१९९०)मा एक कास्य, १२औं (१९९४ हिरोशिमा)मा तीन कास्य, १३औं (१९९८ बैंकक)मा एक रजत र दुई कास्य, १४औं (भियतनाम २००२)मा तीन कास्य, १५औं (दोहा २००६)मा तीन कास्य जितेको नेपाल यसपछि भाग्यमा निर्भर रहनुपरेको छ । किनकी २०१०मा दीपक महर्जनको कास्यमा नेपालले चित्त बुझाउनुपर्यो । सायद यो भाग्यकै देन थियो । अनि सन् २०१४ मा करातेकी बिमला तामाङ इन्चोन जाने वातावरण नबनिदिएको भए पदकका बिषयमा यसै भन्न सकिने थिएन ।

दुई कराते संघ अस्तित्वमा थिए । एउटा राखेपसँग र अर्को ओलम्कि कमिटीसँग साइनो गाँसेका । ओलम्पिक कमिटीबाट संरक्षित संघले पठाएकी खेलाडी थिइन् बिमला । यसअर्थमा नेपाली खेलाडी भाग्यमानी पनि छन् । बिमलाको पदकलाई भाग्यले साथ दिएको भन्न सकिन्छ ।

नेपालका लागि स्वर्ण पदक एकादेशको कथा जस्तै छ । एक समय एकै संस्करणमा आठ वटा सम्म पदक जितेको नेपाल पछिल्ला संस्करणमा एउटै पदकमा चित्त बुझाउँदै फर्कनुपरेको छ । यसपटक पनि सबैमा निराशा छाइरहेका बेला प्याराग्लाइडिङले रजत पदक जितेर फेरि एकपटक आमनेपालीलाई खुशी दियो । यसका लागि टिम कप्तान विमल अधिकारी, विशाल थापा, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङ यतिबेला आम नेपालीका बधाईका पात्र बनेका छन् । उनीहरुले टिम क्रसकन्ट्रीमा पदक जितेका हुन् । अब यिनीहरुको नाम खेलकुद इतिहासमा स्वर्णीम अक्षरले लेखिसकिएको छ । त्यसका लागि यसको विरासतलाई निरन्तरता दिनसक्नुपर्नेछ ।

विरासत राजनीतिमा मात्र हैन, खेलकुदमा पनि त्यत्तिकै सान्दर्भिक हुनेगर्छ । बक्सिङ, तेक्वान्दो र कराते उदाहरण हुन् । एशियाडको सात दशक यात्रामा नेपालका लागि पदक जित्ने भनेकै यी तीन खेल हुन् । कुल २४ पदक मध्ये तेक्वान्दोले १४, बक्सिङले ६ र करातेले तीन पदक जितेका छन् । र, अहिले प्याराग्लाइडिङको नाममा एउटा पदक लेखियो । बक्सिङ बाहेक अन्य तीन खेलले पहिलोपटक समावेश गराइदा मात्र पदक जित्ने संयोग जुरेको छ, नेपालका लागि । सन् १९८६ को सिओल एशियाडमा तेक्वान्दो पहिलोपटक समावेश गरिएको थियो, सन् १९९४ मा हिरोशिमा एशियाडमा कराते पहिलोपटक । अनि प्याराग्लाइडिङ यसपटक पहिलो पटक ।

हरेक आयोजक राष्ट्रलाई केही खेल आफु अनुकुल थप्न पाउने प्रावधान बमोजिम नै इन्डोनेसियाले अन्तिममा प्याराग्लाइडिङ थपेको थियो, जसरी कोरियाले सिओल एशियाडमा तेक्वान्दो र जापानले हिरोशिमा एशियाडमा कराते थप गरेका थिए । यसपटक प्याराग्लाडिङ थपेर इन्डोनेसियाले आफ्नो निर्णय सत्य सावित गराइसकेको छ । इन्डोनेसियाले प्याराग्लाइडिङ समावेशमा जोड नगरेको भए नेपाली टोली साढे तीन दशकको एशियाड यात्रामा पहिलो पटक रित्तो हात घर फर्कनु पर्थ्यो, नतिजाले त्यही भन्छ ।

प्याराग्लाइडिङ नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषदको उच्च प्राथमिकताको खेल हैन । यसमा खासै लगानी पनि छैन । लगानी बिनाको प्रतिफल सायद त्यति मिठो पनि हुँदैन । तर मिठो मान्नुपर्ने अब बाध्यता छ । जसले सम्पुर्ण नेपालीलाई खुशी दिएको छ, त्योभन्दा बढ्ता खेलकुद नेतृत्वको इज्जत जोगाइदिएको छ । महंगो आकाशे प्रतियोगिता, सबै देशमा नखेलिने र सर्वसाधारणको पहुँचमा नहुने हुँदा प्याराग्लाइडिङको प्रतिस्पर्धा र आयोजना दुवै चुनौतिपुर्ण मानिन्छ । तर नेपालमा व्यवसायको रुपमा रहेको साहसिक यो खेल विश्वभरि थुप्रै सौखिन खेलाडीको सुचिमा परेकोले नेपालमा पनि यसले स्वभाविक मलजल पाइरहेको देखिन्छ ।

सर्वसाधारणको पहुँचभन्दा टाढाको यो खेलको प्रवद्र्धन गर्ने भावी रणनीति र योजना पक्कै राखेपले तय गर्ने अपेक्षा गर्न सकिन्छ । राखेप मात्र हैन यस खेलमा सरकारले उच्च प्राथमिकता दिन सक्यो भने यसले नेपालको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने देखिन्छ । किनकी नेपाल बिश्वमै स्वीटजरल्याण्डपछिको उत्कृष्ट गन्तव्यका रुपमा रहेको छ भने पोखरा पनि संसारमै उच्च कोटिको गन्तव्यका रुपमा सुचिकृत छ ।

पर्यटकलाई लक्षित गरि सुरु गरिएको यस खेलले अब नेपालकै पर्यटन प्रवद्र्धनको आयतन समेत बढाइदिनेछ ।
उता, एशियाडको यति लामो यात्रामा प्याराग्लाइडिङ बाहेक तीन खेलले मात्र पदक जितेको इतिहास साक्षी हुँदाहुँदै २९ खेलमा सहभागिता जनाउने राखेपको निर्णयमाथि पनि शंका गर्ने ठाउँ देखिन्छ । यसले राखेपको अस्पष्ट कार्ययोजना, अदुरदर्शी सोंच भन्नेलाई बल मिलेको छ । सर्वसाधारणले नाम नसुनेका कतिपय खेल एशियाड पुगेका छन्, भर्खरै भित्रिएका खेल जाकर्ता र पालेमबाङ पुगेका छन् । देशभित्रै आफ्नो आयतन बढाउन नसकिरहेको खेललाई एशियाड जस्तो ठुलो जात्रामा पठाउनु राखेप दोषी हो, ओलम्पिक कमिटीको गैरजिम्मेवारपन हो भन्ने धेरै छन् ।

अस्पष्ट योजना र अदुरदर्शी नेतृत्वकै कारण समग्र नेपाली टोली जम्बो बन्न पुगेको तीतो यथार्थ हो । जसको सर्वत्र आलोचना पनि भइरहेको छ । एशियाड जानुअघि कम्तीमा आठ पदक जित्ने दावी गर्ने नेतृत्वले अहिले आएर हाम्रो तयारी पुगेन, अरु धेरै माथि रहेछन् भन्ने गरेको सुनिएको छ । त्यतिमात्र हैन राज्यको लगानी नै छैन, मेडल कसरी आउँछ भन्ने गरेको खबर पनि बाहिर आएको छ । सरकारले त पाँच करोड दिएकै हो नि, हैन र?

सिमित खेलमाथि लगानी गरिएको भए यो रकम कम हैन । सबैभन्दा पहिले हामीले खेलको प्राथमिकीकरण गर्नु पर्थ्यो । सकेनौं, त्यहीं चुक्यौं । सबैका चित्त बुझाउँदै गयौं । कतै माथिका आदेशलाई अक्षरस पालना गर्दै गयौं । कतै आफन्तका मन बुझाउन खोज्यौं । कसैका गुन तिर्न पनि खोज्यौं ।

हामीले सबैभन्दा माथि त देश छ, राष्ट्रिय झण्डा छ भन्ने बिर्सियौं । गल्ती भएको यहींनेर हो । सबै खेलका आआफ्नै मुल्य र मान्यता छन्, सबैको आफ्नै हैसियत छ । तिनलाई देशभित्र मलजल गर्ने वातावरण दिने हो, अवसर दिने हो । राखेप सर्वोच्च निकाय हो । सबैको अभिभावक हो । अभिभावकले वातावरण तयार गरिदिने हो, अवसर दिने हो । शारीरिक रुपमा कमजोर सन्तानलाई सेनामा भर्ना गरिदिनु भनेको युद्धमा मर्न पठाउनु हो, तन्दुरुस्त सन्तान पो सेनाका लागि त ।

तसर्थ राखेप खेलको वर्गीकरण र प्राथमिकीकरण गर्नमा चुकेकै हो । संघलाई बलियो बनाउनतर्फ राखेपले कहिल्यै चासो दिएको छैन । संघहरुको काममा प्रभावकारी नियमन गरिदिने हो भने खेलकुदले एउटा गति लिने निश्चित छ । किनकी हरेक खेलका विश्व महासंघ छ । ती खेलको बिश्व भेलामा एउटा साझा एजेन्डा तय गरिन्छ, हरेक बलिया राष्ट्रले कमजोर राष्ट्रलाई सघाउँदै सँगसँगै अगाडि लैजाने । बिश्व खेलकुदको निर्दिष्ट लक्ष्य र उद्देश्य पनि सँगसँगै अघि जानु नै हो ।

विश्व खेलकुदको यो साझा एजेन्डा नेपालका लागि जहिल्यै सुवर्ण अवसर छ । किनकी हाम्रो दुई छिमेकी चीन र भारत एशियाली खेलकुदमा ठुलो हैसियत राख्छन् । चीनले एक दशकदेखि शीर्ष स्थानमा रहँदै पदकको चाङ देख्दा नेपालले लाभ उठाउन सक्ने प्रर्याप्त आधार छन् । साथै भारत पनि दक्षिण एशियाको जहिल्यै शीर्ष टोली हो । तर नेपालले उच्च स्तरीय सम्वाद कहिल्यै गर्न सकेन । यसर्थ नेपालको खेल कुटनीति निकै कमजोर छ भन्न सकिने आधार यिनै हुन् । कमजोर खेल कुटनीतिका कारण नेपाली खेलकुदले अपेक्षित लाभ उठाउन नसकेको तीतो यथार्थ हो ।

राखेपले हरेक संघलाई देशभित्र गरेको लगानी, उसको गतिविधि र आकर्षणलाई मध्यनजर गरेर मात्र अन्तर्राष्ट्रिय मञ्चमा पठाउने नीति तयार गर्नैपर्छ । त्यसैगरी दक्षिण एशियाली खेलकुदको प्रदर्शन र प्रतिफलबाट मात्र एशियाड पठाउने नीति तर्जुमा गर्नैपर्छ । एशियाडको प्रदर्शनले ओलम्पिकको ढोका खोल्ने हुनुपर्छ । यस्तो खाले नीति तर्जुमा गर्दै कार्यान्वयन तहमा प्रभावकारी लागु गर्न सकियो र खेल कुटनीतिलाई प्रभावशाली बनाउन सकियो भने मात्र नेपालको खेलकुद उकालो चढ्न सक्छ ।

अर्कोतर्फ जिम्मेवारीबोध, नैतिकता र जवाफदेहिताको खडेरी छ हाम्रो खेलकुदमा । पुरस्कार र दण्ड भन्ने प्रावधान नै छैन । यतिबेला सबैले गम्भीर आत्मसमिक्षा गर्नुपर्नेबेला आएको छ । मातहतका निकाय र जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउने र आफुले नैतिकता प्रदर्शन गर्ने बेला आएको छ ।

यसको अन्तिम जिम्मेवारी नेपाली खेलकुदको संरक्षक सम्मानीय प्रधानमन्त्रीको हो । उहाँले पनि मातहतका सबैलाई जवाफदेही बनाउन सक्नुभयो भने आगामी दिनमा सबैले सबक सिक्दै जाने कुरा हो ।

अन्यथा कुसुम गजमेरको गीतको एउटा लाइन, अल्झाइराख, नलैजाउ टाढा भनेझैं भइरहने छ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध