इलाम । धरान फुटबल क्लब सुनसरी इलामको माङ्सेबुङमा जारी ११ औं संस्करणको पवित्रहाङ्मा कप अन्तर्गत महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार खदम स्पोर्टिङ क्लब मोरङलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै धरान अन्तिम चारमा पुगेको हो ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
खेलको तेस्रो मिनेटमा समिक्षा मगरले गोल गर्दै धरानलाई अग्रता दिलाएकी थिइन् ।
तर, पहिलो हाफको इन्जुरी समयमा ममता राउतले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा अनिता लम्जेलको प्रहार गोल पोष्टमा लागेर बाहिरिएपछि खदम क्वाटरफाइनलबाटै बाहिरिएको हो । खेलको प्लेयर अफ दि म्याच धरानकी समिक्षा घोषित भइन् ।
प्रतियोगिता अन्तर्गत अहिले दोस्रो खेलमा सतिसाले एफसी मोरङ र माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब चतराबीच खेल भइरहेको छ ।
महिलातर्फको विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।
आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टीमले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको फाइनल आगामी फागुन २ गते हुनेछ ।