काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पुलिसको जितमा सिर्जना खड्का, निर्मला बिक र रेखा पौडेलले एक एक गोल गरिन् ।
रौतहटको चन्द्रपुरविरुद्ध पुलिसले खेलको सातौं मिनेटमा अग्रता बनाएको थियो ।
सिर्जनाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् ।
दोस्रो हाफमा पुलिसले थप दुई गोल गर्यो ।

खेलको ५४ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाईन् ।
त्यसपछि खेलको ८५ औं मिनेटमा परिवर्तित खेलाडी रेखाले गोल गर्दै पुलिसलाई ३-० को जित दिलाईन् ।
लिगमा पुलिसको यो चौंथो जित हो ।
जितसँगै पुलिसले तेस्रो स्थानको वालिङसँग अंक बराबरी गरेको छ ।
चौंथो स्थानमा रहेको पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।
वालिङ पुलिस भन्दा गोल अन्तरले अघि रहेको छ ।
चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
पुलिसका मुख्य प्रशिक्षक सन्जिब जोशीले सोचेको जस्तो गोल नभएको बताए ।
'खेल राम्रो भयो । खेलाडीले सोचेको जस्तै खेले । स्कोर चाँडो निस्कदा सजिलो भयो तर सोचेजति स्कोर निस्किएँन,' उनले भने ।
चन्द्रपुरका नूरराज काफ्लेले खेल राम्रो भएपनि मिडफिल्डर गल्ति भएको बताए ।
'आजको खेल पहिले भन्दा उत्कृष्ट भयो । सुरुमा पाएको मौका सदुपयोग भएन । त्यसैले दबाब भयो । मिडफिल्डरबाट सोचेको जस्तो राम्रो खेल भएन । अब बाँकी खेल जितको लागि खेल्छौं,' उनले भने ।