धनगढी । सुदूरपश्चिम प्रदेश लिग अन्तर्गतको पहिलो लेगमा कैलालीको निसर्ग स्टार सिटी युवा क्लबले जित निकालेको छ ।
महेन्द्रनगरमा भएको पहिलो लेगमा स्टार सिटीले दीपज्योती युवा क्लबलाई ३-२ ले हराएको हो ।
स्टार सिटीको जितमा चेतमान कठायतले दुई तथा कप्तान कुवेर सिंहले एक गोल गरे ।
दीपज्योतीका लागि शुभम चन्द र धिरेन्द्र शाहले एक एक गोल गरे ।
अब दोस्रो लेगको खेल शनिबार धनगढीको जुगेडामा हुनेछ ।
पहिलो लेगमा जित निकालेको स्टार सिटीलाई अब प्रेसिडेन्ट कपमा छनोट हुन दोस्रो लेगमा बराबरीले पुग्नेछ । दीपज्योतीलाई भने दोस्रो लेगमा फराकिलो जित आवश्यकता देखिएको छ ।
प्रदेश लिगको उपाधि जित्ने टोलीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै एन्फा प्रेसिडेन्ट कपमा सहभागिता जनाउनेछ ।
प्रेसिडेन्ट कपमा सात वटै प्रदेशका विजेताहरु भिड्ने छन् । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागिता जनाउनेछन् । सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।