काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातौं जित निकालेको छ ।
बिहीबार विराटनगर महानगरपालिकामाथि ७-० गोलको जित निकाल्दै आर्मीले लिगमा सातौं जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला बिकले २/२ गोल गरिन् ।
यस्तै सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक एक गोल रह्यो ।
विराटनगरविरुद्ध सहज जित निकाल्ने क्रममा आर्मीले १८ औं मिनेटमा शर्मिलाको गोलबाट अग्रता बनाएको थियो । शर्मिलाले विमला चौधरीको पासमा सहजै गोल गरिन् ।
खेलको २२ औं मिनेटमा सपनाले गोल गर्दै आर्मीलाई २-० को अग्रता दिलाईन् । उनले डिबक्सबाहिरबाट हानेको प्रहार गोलमा परिणत भएको थियो ।
३१ औं मिनेटमा आर्मीले ३-० को अग्रता बनायो । आर्मीको लागि तेस्रो गोल डिफेन्डर विमला बिकले गरिन् ।
खेलको ३४ औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई ४-० को अग्रता दिलाईन ।
खेलको ३९ औं मिनेटमा रश्मीले गोल गरेपछि आर्मीले पहिलो हाफमा ५-० को अग्रता बनायो । उनले विमला चौधरीले मिलाएको पासमा हेड गोल गरिन् ।

आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको ५० औं मिनेटमा विमला बिकले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मी ६-० ले अघि रह्यो । उनले करिब २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गरिन् ।
त्यसपछि खेलको ५४ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७-० को जित दिलाईन् । उनले हेमा चौधरीको पास सदुपयोग गरिन् ।
जितसँगै आर्मीले शीर्ष स्थानको एपीएफमाथि दबाब कायम राखेको छ ।
दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ ।
एपीएफको २४ अंक रहेको छ ।
विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले विपक्षी बलियो नहुँदा सहज जित पाएको बताए ।
'सहज जित भयो । विपक्षी राम्रो देखिएन । हामीसँग उनीहरुले खेल्न सकेन,' उनले भने, 'पाएको अवसर सबै सदुपयोग भयो ।'
विराटनगरका प्रशिक्षक पारस चौधरीले पहिलो हाफको तुलनामा दोस्रो हाफमा टिमले राम्रो खेलेको बताए ।
'पहिलो हाफमा लक्ष्य अनुसार खेल भएन । दोस्रो हाफ राम्रो भयो,' उनले भने, '४ गोल मात्रै खान्छौ भन्ने थियो तर धेरै गोल खायौं ।'