काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्गजाको वालिङ नगरपालिकाले सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।
वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै क्यामरुनकै टौटा ओरनेला नोईलीले दुई गोल गरिन् ।
चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काईन् ।
खेलको २५ औं मिनेटमा रुथले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।
तर, खेलको ३२ औं मिनेटमा अन्जनाले गोल गर्दै चौदण्डीलाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन् ।
खेलको ३३ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दा वालिङले २-१ को अग्रता बनायो ।
खेलको ४४ औं मिनेटमा रुथले ह्याट्रिक पुरा गरेपछि पहिलो हाफमा वालिङ ३-१ ले अघि रह्यो ।
दोस्रो हाफमा वालिङले थप चार गोल गर्यो ।
खेलको ४८ औं मिनेटमा रुथले व्यक्तिगत चौंथो गोल गर्दा वालिङले ४-१ को अग्रता बनायो ।
५५ औं मिनेटमा रुथले व्यक्तिगत पाँचौं गोल गरेपछि वालिङको अग्रता ५-१ को बन्यो ।
खेलको ७१ औं मिनेटमा नोईलीले गोल गर्दै वालिङलाई ६-१ अग्रता दिलाईन् ।

त्यसपछि खेलको ७२ औं मिनेटमा नोईलीले व्यक्तिगत दोस्रो गोल गरेपछि वालिङले ७-१ को सहज जित निकाल्यो ।
लिगमा यो वालिङको चौंथो जित हो । जितसँगै वालिङले ९ खेलमा १८ अंक जोडेको छ ।
वालिङ लिगको तेस्रो स्थानमा रहेको छ ।
चौदण्डीको यो लगातार नवौं हार हो । अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
वालिङका मुख्य प्रशिक्षक दिलिप थापाले टिमको तालमेल नमिल्दा धेरै गोल गर्न नसकिएको बताए ।
'खेल जित्यौं त्यसैमा खुसी छौँ । पुलिस हामी भन्दा गोल अन्तरमा माथी छ । हामीले आज धेरै गोल गर्न सकेनौ । तालमेल मिल्न नसक्दा धेरै गोल गर्न सकेनौं,' उनले भने ।
चौदण्डीका प्रशिक्षक दिपक थापाले विदेशी खेलाडीलाई मार्क गर्न नसक्दा पराजित भएको बताए ।
'खेलमा ३ अंक जोड्ने लक्ष्य थियो तर सुरुमै दुई गोल खायौं ।आगामी दुई नगरपालिका टिम र विभागसँग ३ अंकको लागि खेल्छौं,' उनले भने, 'विदेशी खेलाडीलाई मार्क गर्न नसक्नु मुख्य कमजोरी रह्यो ।'