एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोना सेभियासँग २-० ले पराजित भएको हो ।
घरेलु मैदानमा सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक एक गोल गरे ।
खेलको २५ औं मिनेटमा कुन्डेले गोल गर्दै सेभियालाई १-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै सेभियालाई २-० को सहज जित दिलाए ।
राकिटिचले पूर्व क्लबविरुद्ध गोल गरेका हुन् ।

सेभियाविरुद्ध बार्सिलोनाले गोलको अवसर सिर्जना गरेको थियो । तर, उसका खेलाडीले सदुपयोग गर्न सकेनन् ।
यस जितसँगै सेभियाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
बार्सिलोनालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
बार्सिलोना र सेभियाबीचको दोस्रो लेग मार्च ४ मा हुनेछ । दोस्रो लेग बार्सिलोनाको मैदानमा हुनेछ ।
