काठमाडौं । एपीएफ क्लबकी कप्तान अनिता बस्नेतले राष्ट्रिय महिला लिग फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी छिन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्धको खेलमा अनिताले सर्वाधिक छिटो गोलको कीर्तिमान बनाएकी हुन् ।
चन्द्रपुरविरुद्ध अनिताले १८ सेकेण्डमै गोल गरेकी थिइन् । जुन गोल जारी प्रतियोगिताकै सर्वाधिक छिटो गोल हो ।
कीर्तिमानी गोल गर्ने क्रममा अनिताले स्ट्राइकर सावित्रा भण्डारीको पास सदुपयोग गरेकी थिईन् ।
अनिताले त्रिभुवन आर्मी क्लबकी स्ट्राइकर शर्मिला थापाको नाममा रहेको कीर्तिमान भङ्ग गरिन् । शर्मिलाले बुधबार वालिङ नगरपालिकाविरुद्ध ५२ सेकेण्डमै गोल गरेकी थिईन् ।
अनिताले कीर्तिमानी गोल गरेको खेलमा एपीएफले चन्द्रपुरविरुद्ध ८-० को जित निकालेको थियो ।
प्रतियोगितामा लगातार आठौं जित निकाल्ने क्रममा स्ट्राइकर सावित्रा भण्डारीले ६ गोल गरेकी थिइन् । यस्तै अनिताले दुई गोल गरेकी थिइन् ।
जितसँगै एपीएफले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ ।
एपीएफले ८ खेलमा २४ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १९ अंक रहेको छ ।
११ अंक जोडेको वालिङ नगरपालिका तेस्रो र ११ अंक जोडेको पुलिस चौथो स्थानमा रहेको छ ।
यस्तै १० अंक सहित विराटनगर पाचौं स्थानमा रहँदा ६ अंक बटुलेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ ।
अंकविहीन चौदण्डीगढी नगरपालिका तालिकाको पुछारमा रहेको छ ।