काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।
मंगलबार भएको खेलमा आर्मीले १० खेलाडीमा सिमित स्याङ्जाको वालिङलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीलाई जित दिलाउन शर्मिला थापाले एक गोल गरिन् । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको पहिलो मिनेटमै शर्मिलाको गोलबाट आर्मीले अग्रता बनाएको थियो ।
इन्दिरा राईले मिलाएको पासमा शर्मिलाले तीन डिफेण्डरलाई जिल्लाउदै अफसाइड बिट गरेर गोल गरिन् ।
त्यसपछि खेलको ४३ औं मिनेटमा पुष्पा गुरुङले आत्मघाती गोल गरेपछि आर्मी २-० ले बिअज्यी भयो ।
मैदानको दायाँ भागबाट सपना राईको क्रसलाई विमलाले सहजै जाली चुमाईन् ।
त्यस्तै खेलको ८३ औं मिनेटमा वालिङ १० खेलाडीमा समेटिएको थियो । वालिङकी क्यामरुनी डिफेन्डर किओमेग्ने भेनेसा नोईली दुई पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।
जितसंगै आर्मीले ८ खेलमा १९ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ ।
वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले जित महत्वपूर्ण भएको बताए ।
'यो जित दोस्रो पोजिसनको लागि महत्त्वपूर्ण छ तर, अझै हामी पहिलो स्थानको लागि खेल्छौं,' आज विपक्षी राम्रो थियो । खेल प्रतिस्पर्धात्मक थियो । सुरुमै गोल हुँदा सहज भयो । पाएको मौका सदुपयोग भयो ।'
वालिङका मुख्य प्रशिक्षक दिलिप थापाले खेल राम्रो भएपनि नतिजा ननिस्किएको बताए ।
'खेल राम्रो भयो । सुरुबाट अन्तिमसम्म खेलाडीले राम्रो खेले । अघिल्लो खेल भन्दा सुधार भएको छ,' उनले भने, 'हामीलाई तेस्रो र चौंथो स्थानमा रहने मौका अझै छ ।'