एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा एट्लेटिको सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा लुइस सुआरेजले दुई गोल गरेपनि एट्लेटिकोले अंक बाडेको हो ।
खेलमा सुरुवाती अग्रता भने सेल्टाले बनाएको थियो ।
खेलको १३ औं मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टालाई १-० को अग्रता दिलाए ।
तर, खेलको ४५ औं मिनेटमा सुआरेजले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

खेलको ५० औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८९ औं मिनेटमा सेल्टाका फकुन्डो फेरेराले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।
बराबरीसंगै एट्लेटिकोले २१ खेलमा ५१ अंक जोडेको छ ।
एट्लेटिको दोस्रो स्थानको बार्सिलोना भन्दा ८ अंकले अघि रहेको छ ।
सेल्टा २६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।