काठमाडौं । एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम राखेको छ ।
अपराजित यात्रा कायम राख्ने क्रममा एपीएफले सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४-० ले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ८ गोल गरिन् ।
यस्तै अनिता बस्नेत र अनिता केसीले समान २/२ गोल गरिन् । कप्तान अनु लामा र रबिना गोलेले नाममा एक एक गोल रह्यो ।
प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डीविरुद्ध एपीएफले दुबै हाफमा समान ७/७ गोल गर्यो ।

खेलको चौंथो मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । उनले अनिता केसीको पासमा सहज गोल गरिन् ।
खेलको १८ औं मिनेटमा सावित्राले एकल प्रयासमा व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ २-० ले अघि रह्यो ।
२४ औं मिनेटमा अनिता केसीले सिक्स यार्ड बक्सबाट गोल गर्दा एपीएफको अग्रता तेब्बर बन्यो ।
सावित्राले ३७ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल पुरा गर्दै ह्याट्रिक पुरा गरिन् । सावित्राको ह्याट्रिकसंगै एपीएफले ४-० को अग्रता बनायो ।
खेलको ३९ औं अनिताले सावित्राको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ५-० को अग्रता दिलाईन् ।
खेलको ४३ औं मिनेटमा सावित्राले एकल प्रयासमा व्यक्तिगत चौंथो र टिमका लागि छैटौं गोल गरिन् ।
खेलको ४५ मिनेटमा अनिता बस्नेतले गोल गर्दा एपीएफले पहिलो हाफमा ७-० को अग्रता बनायो ।
दोस्रो हाफमा समेत एपीएफले लगातार गोल गर्यो ।
सावित्राले खेलको ५३ र ५६ औं मिनेटमा गोल गरेपछि एपीएफ ९-० ले अघि रह्यो । यस दुई गोलसंगै सावित्राले दोहोरो ह्याट्रिक पुरा गरिन् ।
खेलको ६५ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई १०-० को अग्रता दिलाईन् ।
खेलको ७२ औं मिनेटमा सावित्राले व्यक्तिगत सातौं गोल गरिन् । सावित्राको गोलसंगै एपीएफ ११-० ले अघि बढ्यो ।
खेलको ७५ औं मिनेटमा परिवर्तित खेलाडी अनुले गोल गरेपछि एपीएफको अग्रता १२-० को बन्यो ।
खेलको ७९ औं मिनेटमा परिवर्तित खेलाडी रबिनाले गोल गर्दै एपीएफलाई १३-० को अग्रता दिलाईन् ।
त्यसपछि खेलको ८६ औं मिनेटमा सावित्राले व्यक्तिगत आठौं गोल गर्दा एपीएफ १४-० ले विजयी भयो ।
यससँगै शीर्ष स्थानको एपीएफले लिगमा लगातार सातौं जित हात पारेको छ ।
एपीएफले ७ खेलमा २१ अंक जोडेको छ ।
एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो ।
चौदण्डीको यो लगातार सातौं हार हो ।
चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
एपीएफ क्लबको मुख्य प्रशिक्षक भगवती थापाले टिममा अझै कमीकमजोरी बताईन् ।
'टोलीले १४ गोल गर्नु राम्रो हो । तर, कमीकमजोरी रह्यो आज पनि । मिडफिल्मिडर र फरवार्डबीच तालमेल भयो । तर, अघिल्लो खेलको भन्दा कम गोल भयो,' उनले भनिन्, 'उपाधिको लागि अझै २ खेल पर्खनु पर्छ ।'
चौदण्डीका मुख्य प्रशिक्षक दिपक थापाले फराकिलो हार व्यहोरेपनि टोलीको खेलमा सुधार आएको बताए ।
'खेल हेर्दा तुलना गर्दा एपीएफसँग पहिला भन्दा सुधार भएको छ । बल पोजिसन राख्न नसक्दा हार भयो । विदेशीबाट ७०% आशा छ । प्रदर्शनपनि यस्तै छ । अझै तालमेल मिलेको छैन । नगर टोलीलाई हराउन सक्छौ,' उनले भने ।