नेपालगन्ज । मसुरिया एकेडेमी कैलाली स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा भारतिय टिम सहारा एफसीलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै मसुरिया फाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित र थप गरिएको समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा मसुरियाका दिवस बोहोरा, चेतन कठाएत, हेमन्त क्षेत्री, ओमप्रकास चौधरी र विष्णु चौधरीले गोल गरे ।
सहाराका समुअल राज, कमल थापा, जाभेद खानले गोल गरे भने सन्जय सिंहको बल प्रहारलाई मसुरियाका गोलकिपरले बचाएका थिए ।
पेनाल्टी अघि समुअल राजले ३७ औं मिनेटमा गोल गर्दै सहारालाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा चेतन कठायतले गोल गर्दै मसुरियालाई खेलमा फर्काएका थिए ।
अब मसुरियाले फाइनलमा आयोजक जयकिसान स्पोर्ट्स क्लब ‘ए’ र एफएफएसए दाङको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।