एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको एसी मिलानले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा मिलानले काग्लियारीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
१० खेलाडीमा समेटिएको मिलानको जितमा ज्लाटन इब्राहिमोविचले दुई गोल गरे ।
खेलको सातौं मिनेटमा इब्राहिमोविचले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५२ औं मिनेटमा इब्राहिमोविचले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।

खेलको ७४ औं मिनेटमा एलेक्सीसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राप्त गर्दा मिलान १० खेलाडीमा समेटिएको थियो ।
तर, त्यसको फाईदा काग्लियारीले उठाउन सकेन ।
जितसँगै मिलानले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।
मिलानले १८ खेलमा ४३ अंक जोडेको छ ।
काग्लियारी १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।