काठमाडौं । एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
लिगकम नकआउटको आधारमा भएको प्रतियोगिताको पहिलो दिन सोमबार टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
टोखा भुतखेलस्थित मैदानमा भएको खेलमा वडा नम्वर ६ का कृष्ण गुरुङले गोल गर्दा वडा नम्वर ७ का समिर गुरुङले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । समिरले नै पेनाल्टी चुकाउदा वडा नम्वर ७ जितबाट वञ्चित बन्यो । प्रतियोगितामा बुधबार दुई खेल हुनेछ ।
प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता जनाएको छ । प्रतियोगिता १३ माघसम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ ।
नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने पहिलो अन्तर्राष्ट्रिय धावक स्वर्गिय गजराज जोशीको नाममा ट्रष्ट स्थापना गरिएको हो । उनले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए ।
गत वर्ष स्थापना भएको स्पोर्टस् कर्नरले खेलकुद प्रतियोगिताको सञ्चालन, सहभागिता, समाजिक तथा जनचेतनामुलक कार्यक्रम सञ्चालनको उद्देश्य राखेको छ ।
प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा टोखाका सबै ११ वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।