काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा दर्शकलाई निशुल्क प्रवेश गराउने भएको छ ।
महिला लिगको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ ७ गते हुनेछ ।
उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
उक्त खेलमा दर्शकलाई शुल्क नलाग्ने एन्फा महिला विभाग प्रमुख हरि खड्काले खेलपाटीलाई जानकारी गराए ।
'रंगशालामा हुने उद्घाटन खेलमा दर्शकलाई शुल्क बिना हेर्ने ब्यवस्था गरेका छौँ,' महिला राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक समेत रहेका खड्काले भने ।
पहिलो पटक डबल राउन्ड रोबिनका आधारमा हुन लागेको महिला लिगको अन्य खेलमा भने शुल्क लाग्नेछ ।
उद्घाटन बाहेक अन्य सबै खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछन् ।
एन्फाले उद्घाटनपछिका खेलमा सामान्य तर्फ ५० र भिआईपी तर्फ १ सय रुपैयाँको टिकट मूल्य तोकेको छ ।
महिला लिगको फाइनल चरणमा ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
लिगमा आर्मी, पुलिस र एपीएफसहित चन्द्रपुर नगरपालिका, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका र विराटनगर नगरपालिकाले प्रतिस्पर्धा गर्ने छन् ।
यस पटक सहभागी हरेक टिमले चार विदेशी खेलाडी टिममा राख्न र खेलाउन पाउने छन् । एन्फाले पहिलो पटक महिला लिगमा समेत विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरेको हो ।
प्रतियोगिताको विजेताले नगद १५ लाख सहित ट्रफी प्राप्त गर्नेछ । दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हरेक टोलीले तयारी स्वरुप १ लाख र कोभिडको राहत स्वरुप ५० हजार गरि डेढ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
हरेक खेलको प्लेयर अफ द म्याचले नगद ५ हजार रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।