बी डिभिजन लिग फागनु ११ गतेबाट
काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फागुनको दोस्रो साता सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनाबाट प्रभावित बनेको गत वर्षको स्थगित बी डिभिजन लिग फागुन ११ गतेबाट सुरु हुने भएको हो ।
कोरोनाका कारण बी डिभिजन लिग गत वर्ष चैत ५ गतेबाट स्थगित अवस्थामा छ ।
एन्फाले यस वर्ष ए डिभिजन लिग सञ्चालन गर्न नसकिने निष्कर्श सहित गत वर्ष स्थगित रहेको प्रतियोगिता पुरा गर्ने लक्ष्य लिएको छ । गत वर्ष बी डिभिजन लिग सहित महिला राष्ट्रिय लिग, प्रदेश लिग र एन्फा प्रेसिडेन्ट लिग कोरोनाका कारण प्रभावित बनेको थियो ।
बी डिभिजन लिग सञ्चालनका सन्दर्भमा एन्फाले बुधबार क्लबका प्रतिनिधिसंग छलफल गरेको छ ।
क्लबका प्रतिनिधिले लिगमा भाग लिन आर्थिक समस्या पर्ने भन्दै स्वास्थ्यको मापदण्ड पुरा गर्न समेत नसकिने बताएका थिए ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव ईन्द्रमान तुलाधरले क्लबका प्रतिनिधिको प्रश्नको जवाफ दिएका थिए ।
छलफलमा एन्फा महासचिव तुलाधरले बी डिभिजनका क्लबलाई लिग पुरा गर्न २ लाख रुपैयाँ आर्थिक सहयोग दिने र स्वास्थ्य सम्बन्धि सम्पूर्ण सहयोग एन्फाले गर्न तयार रहेको बताएका थिए ।
एन्फा र क्लबका पदाधिकारी फागुन ११ गतेबाट स्थगित अवस्थामा रहेका लिग सुरु गर्न सहमत बनेका छन् ।
छलफलमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष रविन्द जोशी, लिग कमिटीका संयोजक बिज्ञान राज शर्मा, लिग निर्देशक सञ्जिव मिश्र र एन्फाका अधिकारीहरु सहभागी थिए ।
बैठकमा एन्फाले फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका सम्बन्धमा क्लबलाई जानकारी गराएको थियो ।
एन्फाका प्रतियोगिता निर्देशक सञ्जिव मिश्रले कोरोनाबाट तंग्रिन लागेको घरेलु खेलकुदमा लिग हुने सहमती बन्नु सुखद पक्ष रहेको बताए ।
‘कोरोनाले विश्व मर्माहित पारेको छ । तर विश्व फुटबल चलायमान छ ।’ उनले भने, ‘हाम्रो घरेलु खेलकुद चलेको छैन । लिग चल्दा अन्य फुटबल गतिविधि स्वास्थ्य मापदण्ड अपनाएर सुरु गर्न प्रेरित गर्नेछ ।’