एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई ३–० ले हराएको छ ।
सोमबार राति घरेलु मैदानमा चेल्सीले वेस्ट ह्यामाथि सहज जित निकालेको हो ।
चेल्सीको जितमा टमी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे ।
लगातारको हारले चेल्सी तालिकामा खस्किदै गएको थियो ।
खेलकाे १० औं मिनेटमा सिल्भाको गोलमा चेल्सीले अग्रता लिएको थियो । सिल्भाले हेड गोलमार्फत चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए ।
अब्राहमले ७८ औं मिनेटमा चेल्सीको अग्रता दोब्बर बनाउने काम गरे । त्यसको दुई मिनेटमै ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।
डेबिड बार्नरले चेल्सीका लागि केही राम्रा अवसरहरु गुमाए । पहिलो हाफमा वान भर्सेस वानमा चुकेका उनी दोस्रो हाफमा समेत अब्राहमको उत्कृष्ट क्रसलाई पोस्टको दिशा दिन सकेनन् ।

यस महिनाको सुरुवातमा चेल्सीले उपाधि दाबेदारको रुपमा आफुलाई प्रस्तुत गरेको थियो ।
लिड्सलाई हराउँदै उसले तालिकाको शीर्ष स्थान समेत कब्जा गरेको थियो । तर एभर्टन र उल्भ्ससंग पराजित बनेपछि चेल्सीले अंक तालिकामा आफुलाई गुमाउन थालेको थियो ।
जित सहित चेल्सी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । चेल्सीले १४ खेलबाट २५ अंक जोडेको छ ।
समान अंक भएपनि गोल अन्तरका आधारमा टोटेनहमलाई पछि पारेको छ । वेस्ट ह्याम २१ अंक सहित तालिकाको दशौं स्थानमा छ ।