एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फरवार्ड करिम बेन्जिमाले फरक स्तरमा खेलिरहेको बताएका छन् ।
रियल मड्रिडले आईतबार ईबरलाई ३–१ ले पराजित गरेको खेलमा बेन्जिमाले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका थिए ।
बेन्जिमा प्रेरित रियलले पछिल्ला ५ खेलमा जित निकालेको छ ।
फ्रान्सेली खेलाडीले ३० औं पटक ला लिगाको एकै खेलमा गोल र अवसर सिर्जना गर्ने खेलाडी बनेका छन् ।
यसअघि क्रिस्टियानो रोनाल्डोले ४४ औं पटक एकै खेलमा गोल र अवसर सिर्जना गरेका थिए ।
बेन्जिमाको उत्कृष्ट फर्मसंगै रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिडसंग २९ अंक बराबरी गरेको छ । डिएगो सिमोन नेतृत्वको एट्लेटिकोले रियल मड्रिड भन्दा दुई खेल कम खेलेको छ ।

‘बेन्जिमा खेलका विजेता हुन् । किनकी उनीले फरक स्तरमा काम गरिरहेका छन् । मात्र गोलका कारणले हैन ।’ जिदानले भने ।
‘मैले सधै बेन्जिमाको विषयमा एउटै कुरा भनिरहेको छु । यो गोलमात्र हैन, उनी हाम्रो खेलको केन्द्र बिन्दु हुन् । उनी हाम्रा लागि निकै महत्वपूर्ण छन् । उनी जहिले गोल गर्छन्, यो अझ उत्कृष्ट रहन्छ । तर उनी टिमका लागि धेरै महत्वपुर्ण छन् ।’ उनले भने ।
‘हामीले सबैको प्रर्दशनलाई हेर्नुपर्छ । आईतबारको खेल निकै राम्रो रह्यो । दुवै टिमले राम्रो प्रर्दशन गरे । यो जितको हामी हकदार थियौ ।’ जिदानले भने ।
खेलको ब्यस्त तालिकाका बीच मड्रिडले बुधबार ग्रानाडासंग घरेलु मैदानमा खेल्नेछ । जिदानले सो खेलमा टिम परिवर्तनको संकेत गरेका छन् । पछिल्ला ८ दिनमा रियलले तेस्रो खेल खेल्न लागेको हो।
‘यो अवस्थामा हेर्न सकिन्छ, हामीले कसरी खेलेका छौ ।’ उनले भने, ‘के परिवर्तन होला ? हो, यहाँ परिवर्तन हुनेछ । किनकी यो निकै लामो र कठिन सिजन हो ।’