काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड बिमल घर्तिमगरले गम्भिर चोट बोकेका छन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका बिमलले अभ्यासको क्रममा खुट्टामा चोट बोकेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव ईन्द्रमान तुलाधरका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको सल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
चिकित्सकसंग थप परामर्शपछि उनको चोटको गम्भिरताकाे बिषयमा बताउन सकिने तुलाधरले खेलपाटीलाई बताए ।
लामो समयको विश्रामपछि बिमलले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले मुख्य फरवार्डको रुपमा बिमललाई गुमाउने सम्भावना बढेको छ । समय एकिन नभएपनि उनी लामो समय मैदान बाहिर रहने बताईएको छ ।
विश्वकप छनोटको दौरान अनुशासनको कारबाहीमा परेका बिमल झण्डै तीन महिना कारबाहीमा परेका थिए । निलम्बन फुकुवापछि पनि उनलाई राष्ट्रिय टिममा राखिएन ।
नेपालले गत महिना बंगलादेशमा दुई मैत्रीपूर्ण फुटबल खेल्दा समेत बिमललाई राष्ट्रिय टिम बाहिर राखिएको थियो ।
बंगलादेशबाट फर्किएपछि पुन ५८ जनाको प्रारम्भिक टोलीमा बिमललाई समेत बोलाईएको थियो ।
कोरोनाले घरेलु फुटबल बन्द हुनु अघि बिमल मछिन्द्र क्लबसंग आबद्ध भएका थिए । कारबाही फुकुवा भएपछि बिमलले गत वर्षको लिगको अन्तिम खेलमा उत्रिएका थिए ।
मछिन्द्रले उनलाई लिगको अन्तिम खेल सहित मोफसलका प्रतियोगिताका लागि अनुबन्धन गरेको थियो ।