एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमार अर्को महिना मैदान फर्कने भएका छन् । पैतलामा चोट बोकेका नेयमार जनवरीमा मैदान फर्कने भएका हुन् ।
डिसेम्बर १३ मा लियोनविरुद्ध खेल्ने क्रममा उनले चोट बोकेका थिए ।
थियागो मेन्डिसको खराब ट्याकल ब्यहोरेका नेयमारको चोटको परिक्षण गरिएको थियो । नेयमारले पिडादायी तरिकाले मैदान छाडेका थिए । ब्राजिली स्टारलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।
‘हड्डीमा केही चोट छ । त्यसको उपचार भईरहेको छ । जनवरीमा उनी मैदान फर्किने आश छ ।’ पीएसजीले भनेको छ ।
पीएसजीका मुख्य प्रशिक्षक थोमस टुचेलले साताको सुरुवातमा नेयमार आईतबार लिलीविरुद्धको खेलमा उत्रन सक्ने बताएका थिए ।

पीएसजीले यसअघि नेयमार पूर्व क्लब बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको खेलमा खेल्न तयार हुने प्रारम्भिक प्रतिक्रिया जनाएको थियो । च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा बार्सिलोनाले पीएसजीसंग फेब्रुअरीमा प्रतिस्पर्धा गर्दैछ ।
नेयमार सन् २०१७ को अगष्टमा विश्व कीर्तिमानी मुल्यमा पीएसजीमा आएका थिए । उनले क्लबलाई लगातार तीन लिग उपाधि जिताउन सफल भएका छन् ।
उनकै प्रेरणादायी प्रर्दशनमा पीएसजीले गत सिजन च्याम्पियन्स लिगको फाईनल यात्रा तय गरेको थियो । तर उपाधि भिडन्तमा पीएसजी बायर्न म्युनिखसंग पराजित हुन पुगेको थियो ।