चितवन । गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा बागमती टिमले नारायणी टिमलाई १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा बागमतीले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो।
टस हारेर पहिले ब्याटिङ गरेको बागमतीका लागि ओपनर सुनिल धमला र अलराउण्डर बिक्रम सोबले सर्वाधिक ३७/३७ रन बनाए।
धमलाले ३७ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।
खराब सुरुवात गरेको बागमतीको इनिङ्स उकास्न बिक्रम सोब र राशिद खानले अर्धशतकीय रनको साझेदारी गरे ।
५० रनमा ५ विकेट गुमाएको बागमतीका लागि सोब र खानले आक्रामक ब्याटिङ गरेका थिए ।
बिक्रम सोबले ३७ रन बनाउन ३१ बलमा ३ छक्का र २ चौका प्रहार गरे। रशिदले २२ रनको योगदान गरे ।
अन्य खेलाडीले दोहोरो अंककाे स्काेर छुन सकेनन्।
नारायणी टिमका शाहाब आलमले ३ विकेट हात पारे। यस्तै दिपेश श्रेष्ठले २ तथा करन केसी, सुशन भारी र किशोर महतोले १/१ विकेट हात परे ।
कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा तिन टिमको सहभागिता रहेको छ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी सहित विभिन्न उमेर समूहका खेलाडी र चितवनका स्थानीय खेलाडीलाई टोलीमा समावेश गरिएको छ ।
सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शिर्ष दुई टिम फाइनल पुग्नेछन्।
मंसिर ३० गते फाईनल खेल हुनेछ ।