एजेन्सी । च्याम्पियन्स लिगमा फुटबलमा एट्लेटिको मड्रिड र बायर्न म्युनिखले बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूह एको खेलमा स्पेनिस क्लब एट्लेटिको र जर्मन क्लब बायर्न म्युनिखले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रतियोगिताको साविक विजेता बायर्नसंगको बराबरीले एट्लेटिको मड्रिडमाथि दबाब थपिएको छ ।
उसले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउन समूहको अन्तिम खेल जित्नुपर्ने समिकरण तय भएको छ । उसले समूह चरणको अन्तिम खेलमा रेलबुल साल्जवर्गसग खेल्नेछ । बायर्नले यसअघिनै अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ ।
खेलको २६ औं मिनेटमा जोआओ फिलिक्सको गोलमा घरेलु टोली एट्लेटिकोले खेलमा अग्रता बनाएको थियो ।
खेल सकिन ४ मिनेट अघि थोमस मुलरले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका थिए ।
पछिल्लो नतिजाले युरोपमा बायर्नको १५ खेलको लगातारको जितको यात्रामा पूर्ण विराम लागेको छ । तर जर्मन क्लब यसअघिनै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।
गोलकिपर म्यानुअल नोयर, मिडफिल्डर लियोन गोत्र्जका र फरवार्ड रोबर्ट लेवान्डोस्की स्पेनको यात्रामा थिएनन् । त्यस्तै,सर्ज ग्याब्री र मुलर समेत अन्तिम ३० मिनेटमा मैदान छिरेका थिए ।
तर युवा खेलाडीले भरिएको बायर्नले अनुभवी एट्लेटिकोको टिमलाई बराबरीमा रोक्न सफल भएको छ ।

एट्लेटिकोका जोआओ मंगलबारको खेलमा समेत चम्किए । उनी गत सिजन बेन्फिकाबाट १ सय १३ मिलियन पाउण्डमा एट्लेटिको आएका थिए ।
२१ वर्षिया फरवार्डले यस सिजनमात्र ८ गोल गरिसकेका छन् । उनले च्याम्पियन्स लिगको ५ खेलमा ३ गोल गरेका छन् ।
सोही समूहको अर्को खेलमा साल्जवर्गले लोकोमोटिभ मस्कोलाई ३–१ ले हरायो । साल्जवर्गले नकआउट चरण पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।
शीर्ष स्थानको बायर्नको १३ अंक छ । दोस्रो स्थानको एट्लेटिकोको ६, साल्जवर्गको ४ र लोकोमोटिभ मस्कोको ३ अंक छ ।