एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले पोर्चुगलको एफसी पोर्टोसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ ।
मंगलबार भएको समूह सीको खेलमा पोर्टोको घरेलु मैदानमा सिटीले गोल रहित बराबरी खेलेको हो ।
खेलको अन्तिम समयमा गरेको गोलले मान्यता नपाउँदा सिटीले बराबरी खेल्न बाध्य भयो । तर उसले समूह सीको शीर्ष स्थानमा रहदै नकआउट चरणको यात्रा पक्का गर्यो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ग्याब्रियल जिससले सिटीका लागि गोल गरेका थिए । तर रेफ्रीले सो गोललाई अफसाईडको मान्यता दिए ।

गोलकिपर अगस्टिन मार्चेसिन र पोर्टोका ५ डिफेन्डरले पेप ग्वार्डीओलाको टिमलाई निराश बनाएका थिए । गत हप्तामात्र वर्नलीमाथि ५ गोल गरेको सिटी निकै उत्साहका साथ पोर्चुगल झरेको थियो ।
अर्जेन्टिनी गोलकिपरले तीन शानदार बचाउ गरेका थिए । उनले दुई पटक स्पेनिस फरवार्ड फेरान टोरेसलाई निराश बनाए । दोस्रो हाफमा उनले एक ओभरहेड प्रहारलाई पोस्ट बाहिर पठाईदिएका थिए ।
पोर्टोले समेत एक खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

सोही समूहको अर्को खेलमा मार्सेलीले ओलम्पियाकोसलाई २–१ ले हरायो । फ्रेन्च क्लब मोर्सेलीले ग्रिक क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गर्यो ।
मार्सेलीको जितमा दुवै गोल दिमित्री पायटले गरे । ग्रिक क्लबकाक कामाराले एक गोल फर्काए । दुवै टोली नकआउट चरणको दौडबाट बाहिरिसकेका छन् ।
समूहको शीर्ष स्थानको सिटीको १३ अंक छ । दोस्रो स्थानको पोर्टोको १० अंक छ । ओलम्पियाकोस र मार्सेलीले समान ३ अंक जोडेका छन् ।