एजेन्सी । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान तलब कटौतीमा सहमत बनेका छन् । क्लबलाई वित्तीय रुपमा बचाउन कोम्यान १० मिलियन पाउण्ड तलब कटौतीमा सहमत बनेका हुन् ।
उनले टिमका अन्य सदस्य समेत तलब कटौतीमा सहमत हुने विश्वास ब्यक्त गरेका छन् ।
कोरोना भाईरसको महामारीका कारण बार्सिलोनाले वित्तीय संकट झेलिरहेको छ । वित्तीय संकटबाट पार पाउन बार्सिलोनालाई तलबमा मात्र अझै १ सय ७० मिलियन पाउण्ड आवश्यक छ ।
जेरार्ड पीके र फ्रेन्की डी जोङ लगायतका खेलाडी ३० प्रतिशतसम्म तलब कटौतीमा सहमत बनेका छन् ।
सर्वाधिक तलब बुझ्ने लियोनल मेस्सीले अहिलेसम्म निर्णय लिएका छैनन् । बार्सिलोनाका आन्तरिक अध्यक्ष काल्र्स टस्कले क्लबको निर्णयको विषयमा क्लबका व्यवस्थापक र प्राविधिक स्टाफलाई जानकारी गराईसकेका छन् ।

रिपोर्टका अनुसार कोम्यानले आफ्नो टिमसंग चाँडै यस विषयमा छलफल गर्नेछन् । उनले यस विषयमा खेलाडीलाई केही भन्ने छैनन् । उनले तलबको विषयको अन्तिम निर्णय उनीहरुको हातमा रहेको जानकारी गराउनेछन् । यस समस्यालाई समाधान गर्नका लागि प्रशिक्षक कोम्यानले प्रोत्साहित गर्ने विश्वास क्लबको छ ।
कोभिडको वित्तीय दबाबका बीच गत हप्तामात्र बार्सिलोनाले तलबलाई ६ सय १ मिलियनबाट घटाएर ३ सय ४२ मिलियन पुर्याएको थियो ।
पछिल्लो आँकडाले बार्सिलोनाले ८८ मिलियन पाउण्ड नोक्सान ब्यहोरेको देखाएको छ भने क्लबको ऋण दोब्बर भएर ४ सय ४० मिलियन पाउण्ड पुगेको छ ।
ला लिगाका अध्यक्ष जेवियर टेबसले स्पेनिस क्लबको अध्याधिक खर्च कम गर्न तलब कटौती आवश्यक रहेको बताएका छन् । किनकी समर्थक समेत अहिलेसम्म खेलमा उपस्थित हुन पाएका छैनन् ।

मार्चमा खेलाडीको तलब ७० प्रतिशत कटौतीमा सहमत भएपनि बार्सिलोनाको टिममा ब्यापक तलब कटौतीमा सहमती बन्न बाँकी छ ।
लियोनल मेस्सीले बार्सिलोनामा सर्वाधिक धेरै रकम तलब बुझ्दै आएका छन् । उनले साप्ताहिक रुपमा ५ लाख पाउण्ड तलब बुझ्दै आएका छन् । यस्तै, एन्टोनी ग्रिजम्यानले २ लाख ४९ हजार र फिलिप कौटिन्होले १ लाख ८० हजार पाउण्ड मासिक रुपमा बुझ्दै आएका छन् ।