एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी बार्सिलोनामै बसोस भन्ने आफ्नो चाहना भएको बताएका छन् ।
मेस्सी बार्सिलोना छाडेर सिटी आउने चर्चा चलिरहेको समय बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका ग्वार्डीओलाले उनी स्पेनमै रहेको हेर्ने चाहना व्यक्त गरेका हुन् ।
'मेस्सी बार्सिलोनाका खेलाडी हुन् । मैले हजारौ पटक भन्दै आएको छु,' ग्वार्डीओलाले भने, 'एक समर्थकको हिसाबले म मेस्सीले त्यहिँबाट अन्त्य गरेको चाहन्छु ।'
स्पेनिस प्रशिक्षक ग्वार्डीओलाले बिहीबार मात्रै सिटीसँगको सम्झौता नवीकरण गरेका थिए ।
ग्वार्डीओलाले क्लबसँगको सम्झौता नवीकरण गरेसँगै मेस्सी सिटी आउने हल्ला चलेको थियो ।
मेस्सीको समेत बार्सिलोनासँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ ।
कप्तान मेस्सी बार्सिलोनामा खुशी छैनन् । उनले जनवरी ट्रान्सफरमा नयाँ क्लब रोज्न सक्ने बताईएको छ ।
यस अघि मेस्सीले बार्सिलोनालाई क्लब छाड्ने बताएका थिए । तर, बार्सिलोनाले उनको सरुवा रोकेको थियो ।
'उनको सम्झौता यो वर्ष सकिदैछ । मलाई थाहा छैन उनको दिमागमा के हुन्छ,' ग्वार्डीओलाले भने ।
कीर्तिमानी ६ पटकको बालोन डी'ओर विजेता मेस्सीले २०१५ पछि क्लबमा लागि च्याम्पियन्स लिग जित्न सकेका छैनन् ।
गत सिजन ला लिगा उपाधि जित्न समेत असफल भएको थियो ।