काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले हरेक वर्ष प्रदान गर्ने एनएनआईपीए स्पोर्टस अवार्डसँग स्काई ब्रान्ड नेपाल जोडिएको छ ।
एनएनआईपीए स्पोर्टस अवार्डको एक विधाको प्रायोजकको रुपमा स्काई ब्रान्ड नेपाल जोडिएको हो ।
स्काई ब्रान्ड नेपाल र एनएनआईपीएबीच शनिबार ५ वर्षे सम्झौता भएको छ ।
एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ र स्काइ फिटका मनोज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै यस पटकबाट प्रदान गरिने राइजिङ प्लेयर अफ दि इयर विधालाई स्काईले प्रायोजन गर्नेछ ।
यस वर्ष एक महिला र एक पुरुष खेलाडीलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । त्यसको पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ ।
अवार्डका लागि स्काई ब्रान्ड नेपालले एनएनआईपीएलाई वार्षिक १ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

एनएनआईपीएले हरेक वर्ष अवार्डको आयोजना गर्ने गरेको छ । अवार्डमा विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिदै आएको छ ।
एनएनआईपीए सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीले ५० हजार पाउदै आएका छन् ।
त्यसबाहेक विभिन्न खेलका एक एक खेलाडीलाई एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट समेत सम्मानित गरिन्छ । उनीहरुले जनही १० हजार पाउने गरेका छन् ।
त्यस्तै १ खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक खेलकुद पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिताबाट पनि एनएनआईपीएले पुरस्कृत गर्दै आइरहेको छ ।

सम्झौता कार्यक्रम अघि स्काइ फिटको औपचारिक उद्घाटन समेत गरिएको थियो ।
पाँच महिला खेलाडी करातेकी अनु अधिकारी, फुटबलकी अनिता बस्नेत, भलिबलकी रेश्मा भण्डारी, उसुकी निमा घर्ती मगर र ब्याडमिन्टनकी रशिला महर्जनले संयुक्त उद्घाटन गरे ।
थापाथलीस्थित ब्लु बर्ड परिसरमा रहेको स्काइ फिटमा खेलकुद सामाग्री, पोशाक, उपकरणलगायत सामाग्री उपलब्ध छन् ।
सो अवसरमा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय निर्णायक दीपक थापाले स्काइ फिटको वेबसाइटको पनि उद्घाटन गरेका थिए ।