काठमाडौं । युवा डिफेन्डर विकाश खवासले बंगलादेशविरुद्ध डेब्यु गर्ने भएका छन् ।
शुक्रबार ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेलबाट विकाशले डेब्यु गर्ने भएका हुन् ।
पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका विकाशले पहिलो अवसरमै डेब्यु गर्ने अवसर पाएका हुन् ।
नेपाली टिमका कार्यकारी प्रशिक्षक बाल गोपाल महर्जनले विकाशलाई राईट ब्याकको जिम्मेवारी दिएका हुन् ।
त्रिभुवन आर्मी क्लबका मुख्य खेलाडी रहेका विकाश एन्फा एकेडेमीका उत्पादन समेत हुन् ।
उनले युवा टिममा उपाधि समेत हात पारिसकेका छन् । विकासले नेपाललाई भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिप उपाधि र नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागको उपाधि दिलाएका थिए ।
विकाश बिना रेलिगेशनको 'ए' डिभिजन लिगमा आर्मी क्लबको प्रतिनिधित्व गर्दै युवा खेलाडी घोषित भएका थिए ।
टिमका नियमित दुई डिफेन्डरलाई कोरोना देखिएपछि आर्मीका युवा खवासले अवसर पाएका हुन् ।
बंगलादेशविरुद्ध नेपाली टिमको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् ।
प्रशिक्षक बालगोपालले नेपालको डिफेन्स लाईनमा विकाशसँगै अनन्त तामाङ, अजित भण्डारी र आर्मीकै सुमन अर्याललाई जिम्बेवारी दिएका छन् । सुमनले लेफ्ट ब्याकको भुमिका निर्वाह गर्नेछन् ।
यस्तै मिडफिल्डरमा विक्रम लामा, तेज तामाङ, सुजल श्रेष्ठ, रवि पासवान र अन्जन विष्टले मध्यक्रम समाल्ने छन् । रवि र अन्जनले विंगरको भुमिका निर्वाह गर्नेछन् ।
प्रशिक्षक महर्जनले एक्ला स्ट्राइकरको रुपमा नवयुग श्रेष्ठलाई उभ्याएका छन् ।
बंगलादेशविरुद्ध नेपाली टिम :
गोलरक्षक : किरण चेम्जोङ
डिफेन्डर : विकाश खवास, अजित भण्डारी, अनन्त तामाङ, सुमन अर्याल
मिडफिल्डर : विक्रम लामा, रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ
स्ट्राइकर : नवयुग श्रेष्ठ