एजेन्सी । स्कटल्याण्ड आगामी वर्ष आयोजना हुने युरोकपमा छनोट भएको छ ।
युरो छनोट अन्तर्गत बिहीबार राति सर्वियालाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्कटल्याण्ड युरोकपमा छनोट भएको हो ।
निकै रोमान्चक बनेको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि थप गरिएको ३० मिनेटको समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा स्कटल्याण्डका लेइग ग्रिफिट्स, कलुम म्याकग्रेगर, स्कट म्याकटोमिने, ओलिभर म्याकब्रुन र केनी म्याकलिनले गोल गरे ।
सर्वियाका डुसान टाडिक, लुका जोभिक, नेमान्जा गुडेल्ज र एलेक्सान्डर काटाईले गोल गरे । तर, एलेक्सान्डर मित्रोभिक भने गोल गर्न चुकेका थिए ।
त्यसअघि खेलको ५२ औं मिनेटमा रायन क्रिस्टिले गोल गर्दै स्कटल्याण्डलाई अग्रता दिलाएका थिए । तर, खेलको ९० औं मिनेटमा लुका जोभिकले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

यससँगै स्कटल्याण्ड २५ वर्षपछि युरोकप फुटबलमा छनोट भएको छ । यस अघि स्कटल्याण्डले १९९६ मा युरोकप खेलेको थियो ।
यस्तै स्कटल्याण्ड सन् १९९८ पछि पहिलो पटक ठुलो प्रतियोगितामा छनोट हुन सफल भएको हो । पछिल्लो पटक स्कटल्याण्डले १९९८ मा विश्वकप खेलेको थियो ।
युरोकपमा स्कटल्याण्ड समूह 'डी' मा परेको छ । यस समूहमा इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक रहेका छन् ।
त्यस्तै स्लोभाकिया, हंगेरी र नर्थ म्यासेडोनिया पनि युरोकपमा छनोट भएका छन् ।