काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर भरत खवासले युवा खेलाडीका लागि बंगलादेशसँगको मैत्रीपूर्ण खेल क्षमता देखाउने अवसर रहेको बताएका छन् ।
बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेल अघि बोल्दै भरतले युवा खेलाडीको भविष्य उज्ज्वल रहेको र मैत्रीपूर्ण खेल अवसर हुने बताए ।
‘नयाँ खेलाडीहरु निकैनै राम्रो छ । युवा टिममा एकदमै सम्भावना छ । अवसर पायो भने राम्रो गर्छ । अनुशासित पनि छन् । सिनियर खेलाडी र प्रशिक्षकले गाईड पनि गरिरहेका छन्,’ ढाकाबाट भरतले भने ।
नेपालले पहिलो मैत्रीपूर्णमा आज बंगलादेशसँग खेल्दैछ । दोस्रो मैत्रीपूर्ण खेल भने मंसिर २ गते हुनेछ ।
भरतले युवा खेलाडीको लागि यस मैत्रीपूर्ण खेल अनुभव बटुल्ने माध्यम भएको समेत बताए ।
‘यो मैत्रीपूर्ण खेल उनीहरुका लागि अनुभव बटुल्ने माध्यम पनि हो । उनीहरुको भविष्य उज्वल छ,’ नेपालका लागि ४ खेलमा कप्तानी गरिसकेका भरतले थपे ।
कोरोना संक्रमणका कारण सेटका ५ खेलाडी सहित ८ खेलाडीले बंगलादेश भ्रमण गरेका छैनन । एक खेलाडी ढाकामै संक्रमित छन् भने ४ पहिलो सेटका खेलाडी नेपालमै रोकिन बाध्य भए । यस्तै चोटका कारण अट्याकिङ मिडफिल्डर रोहित चन्द बंगलादेश गएका छैनन ।
जसका कारण पनि युवा खेलाडीले मौका पाउने सम्भावना उच्च रहेको छ । यस पटकको भ्रमणमा केहि युवा खेलाडीले राष्ट्रिय टिमबाट डेब्यु गर्ने सम्भावना समेत रहेको छ ।
यस अघि नेपाल र बंगलादेशबीच दुई वर्ष अघि ढाकामै भेट भएको थियो । कप्तान भरत खवासकै नेतृत्वमा खेलेको नेपालले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै भरतले लामो समय पछि मैदान फर्किए पनि खेलाडीहरु शारीरिक र प्राविधि रुपमा निकैनै फिट रहेको बताए ।
‘समय छोटो भएता पनि, तयारी राम्रै भएको छ । धेरै समयपछि तयारी गर्न पाउँदा फिटनेश राम्रो हुँदै आएको छ,' नेपालका लागि १० गोल गरेका भरतले भने, 'पक्कै पनि हामी राम्रो नतिजा हासिल गछौं । शारिरीक र प्राविधिक रुपमा खेलाडी धेरैनै फिट भएका छन् ।’
त्रिभुवन आर्मी क्लबका कप्तान समेत रहेका भरतले खेलाडीमा जितको भावना रहेको पनि बताए ।
‘खेल खेलेपछि पक्कैनै जित्ने कोशिस गर्ने हो । यो खेलले फिफा वरीयतामा पनि असर पार्छ । जित हामीलाई निकैनै महत्वपूर्ण छ । त्यहि तरिकाले तयारी पनि गरेका छौं । मानसिक रुपमा पनि खेलाडीलाई जित्छौं भन्ने छ,’ भरतले थपे ।
फिफा वरीयतामा नेपाल १ सय ७० औं स्थानमा छ भने बंगलादेश १ सय ८७ स्थानमा छ ।
नेपाल र बंगालदेश फिफा विश्वकपको एसियाली छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका छन् ।