काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छन् ।
‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
लामो समयपछि अन्तराष्ट्रिय खेलका लागि मैदान उत्रदा नेपाल र बंगलादेश दुबै टोली जित र हार भन्दा पनि फुटबल फर्किएकोमा खुसी हुनेछन् ।
तर, नेपाली टिमको लक्ष्य जित नै हुनेछ ।
नेपाली टोलीका कार्यकारी प्रशिक्षक बाल गोपाल महर्जनले फुटबल फर्किएकोमा खुसी रहेको बताउँदै बंगलादेशविरुद्ध जितका लागि खेल्न आफ्ना खेलाडी आतुर रहेको बताए ।
‘धेरै समयपछि हामी फुटबल खेलमा फर्किएका छौं । म आशा गर्छु यो दुई गेम जित्न हामी राम्रो प्रदर्शन गर्छौ,’ ढाकामै नेपाली टिमलाई बंगबंधु कपको उपाधि दिलाएका प्रशिक्षक महर्जनले प्रि-म्याच कन्फरेन्समा भने ।
पछिल्लो समय बंगलादेशविरुद्ध नेपालले राम्रो फुटबल खेलिरहेको र सकारात्मक नतिजा आएका कारण आफ्नो खेलाडी सोहि नतिजा निकाल्न तयार रहेका उनले प्रष्ट पारे ।
‘बंगलादेशविरुद्ध पछिल्लो समय राम्रो नतिजा आएको छ । मेरो खेलाडीको फेरि नतिजा निकाल्न तयार छन्,’ उनले थपे ।
महर्जनले कोरोनाको संक्रमणले गर्दा सेटका केहि खेलाडी गुमाउँदा कठिन भएको समेत बताए ।
‘हामीले यस अघिनै सेटका ४ खेलाडी गुमाएका छौं । अहिले बंगलादेशमा पनि खेलाडी गुमायौं । जसले गर्दा निकैनै गाह्रो हुन्छ,’ महर्जनले थपे, ‘तर नयाँ खेलाडी पनि बंगलादेशविरुद्ध सकारात्मक छन् । उनीहरुले अवसर पाउनेछन् ।’
बंगलादेश प्रस्थान गर्नु अघि नेपालका ७ खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै अट्याकिङ मिडफिल्डर रोहित चन्द भने चोटका कारण नेपालमै रोकिन बाध्य भए ।
बंगलादेश पुगेका एक खेलाडी पनि कोरोना पोजेटिभ आएपछि हाल एकान्तबासमा बसेका छन् ।
नेपाली टिमका कार्यकारी कप्तान किरण कुमार लिम्बुले मैत्रीपूर्ण खेलका लागि बंगलादेश फुटबल फेडेरेशनलाई धन्यवाद दिदै बंगलादेशविरुद्ध खेल्न टिम आतुर रहेको बताए ।
‘धन्यवाद बंगलादेश । हामी दुबै उस्तै अवस्थामा छौं । बंगलादेश धेरै राम्रो टिम छ । गेम खेल्न निकै नै आतुर छौं । हामी धेरै समयपछि बंगलादेशसँग खेल्दैछौं,' हालै भारतीय आईलिग क्लब पन्जाब एफसीमा आबद्ध भएका किरणले भने, 'समय थोरै भएपनि दुबै गेम निकैनै प्रतिस्पर्धात्मक हुनेछ । हामी तयार छौं ।’
हेड टु हेड कस्तो ?
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन । २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।
बंगलादेश नेपालका लागि चिरपरिचित प्रतिद्वन्दी हो । तर, बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।
नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहिन भएको छ ।
सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
त्यसपछि नेपालले बंगलादेशसँग साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप र साउथ एसियन गेम्स (साग) ७–७ पटक भिडेका छन् ।
यस्तै दुई मैत्रीपूर्ण खेल खेल्दा एसियन गेम र एएफसी एसियन कपमा एक एक पटक प्रतिस्पर्धा गरेका छन् ।
बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले बाजी मार्दै आएको छ ।
सन् २०११ मा भएको साफ पछि नेपाल बंगलादेशसँग एक पटक मात्रै पराजित भएको छ । नेपालले तीन खेलमा जित निकाल्दा १ खेल बराबरी खेलेको छ ।