काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबका पूर्व प्रशिक्षक सुमन श्रेष्ठलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
गृहजिल्ला धनकुटामा रहेका सुमनलाई मंगलबार कोरोना पुष्टि भएको हो ।
परिवारका अन्य सदस्यमा कोरोना देखिएपछि परिक्षण गर्दा उनको रिपोर्ट समेत पोजेटिभ आएको हो ।
एन्फा एकेडेमी धरानका मुख्य प्रशिक्षक रहेका सुमनसँगै उनका परिवारमा ४ सदस्यलाई कोरोना देखिएको छ ।
कोरोना देखिएपनि आफु र आफ्नो परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था ठिक भएको सुमनले खेलपाटीलाई बताए ।
एएफसी 'ए' लाइसेन्स प्राप्त प्रशिक्षक सुमनले २०७५ सालको 'ए' डिभिजन लिगमा मनाङलाई च्याम्पियन बनाएका थिए । जुन मनाङले कीर्तिमानी आठौं पटक उपाधि जितेको थियो ।
विदेशी प्रशिक्षक फुजा तोपेको 'ए' लाइसेन्स नभएपछि मनाङले सुमनलाई टर्च लाइनमा उभ्याएको थियो ।