एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भएको तेस्रो खेलमा डर्टमण्डले बेल्जियनको क्लब ब्रुगलाई ३-० ले पराजित गरेको हो ।
क्लब ब्रुगको मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । थोर्गन हाजार्डको नाममा एक गोल रह्यो ।
पहिलो हाफको १४ औं मिनेटमा हाजार्डको गोलबाट डर्टमण्डले अग्रता बनाएको थियो । खेलको १८ औं मिनेटमा हालाण्डले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ३२ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३-० को जित दिलाए ।
२० वर्षीय स्टार हालाण्डको यो च्याम्पियन्स लिगमा १४ औं गोल हो । उनले ११ खेलमा १४ गोल पुरा गरेका हुन् ।
यस्तै डर्टमण्डका लागि उनले सबै प्रतियोगिताको २८ खेलमा २६ गोल समेत पुरा गरे ।
जितसँगै समूह 'एफ' को डर्टमण्डले ३ खेलमा ६ अंक जोडेको छ । डर्टमण्ड समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
क्लब ब्रुग ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा लाजियोले सेन्ट पिटर्सबर्गसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।
लाजियो ५ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । १ अंक जोडेको पिटर्सबर्ग पुछारमा रहेको छ ।
