एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा सहज जित निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब रेनसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे । टामी अब्राहमले एक गोल गरे ।
स्टामफोर्ड ब्रिजमा वेर्नेरले १० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ४० औं मिनेटमा डालबर्टले रातो कार्ड पाएपछि रेनस १० खेलाडीमा समेटियो ।
पेनाल्टी बक्स भित्र डालबर्टले हातले बल रोकेपछि भीएआरको सहायताबाट चेल्सीले पेनाल्टी समेत प्राप्त गर्यो ।
जसमा वेर्नेरले सहजै गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५० औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए ।

जितसँगै समूह 'इ' को चेल्सीले ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी समूहको शीर्ष स्थानमा रहेको छ ।
रेनस ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा सेभियाले क्रास्नोडरलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
जितसँगै सेभिया ३ खेलमा ७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।