एजेन्सी । साविक उपविजेता टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा पराजित भएको छ ।
बुधबार राति भएको खेलमा पीएसजी जर्मन क्लब आरबी लाइपजिगसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
लाइपजिगको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा ९ खेलाडीमा सिमित भएको फ्रेन्च क्लब पराजित भएको हो ।
रेडबुल एरिनामा दुई मुख्य स्ट्राइकर केलियन एमबाप्पे र नेयमारबिना मैदान उत्रिएको पीएसजीले छैटौं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता बनाएको थियो ।
चोटका कारण एमबाप्पे र नेयमारले जर्मन क्लबसँगको खेल गुमाएका हुन् ।

तर, खेलको १६ औं मिनेटमा डी मारिया पेनाल्टीमा गोल गर्न चुके । डी मारियाको प्रहार लाइपजिगका गोलकिपर पिटरले रोकेपछि पीएसजी अग्रता दोब्बर बनाउन चुकेको थियो ।
खेलको ४२ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा इमील फोर्सबर्गले पेनाल्टीमा गोल गर्दै लाइपजिगलाई २-१ को जित दिलाए ।
खेलको ६९ औं मिनेटमा इद्रिस्सा गानाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पीएसजी १० खेलाडीमा समेटिएको थियो ।
यस्तै ९० औं मिनेटमा किम्पेम्बेले रातो कार्ड पाएपछि पीएसजी ९ खेलाडीमा समेटियो ।

पीएसजीलाई हराएसँगै समूह 'एच' को लाइपजिगले ३ खेलमा ६ अंक जोडेको छ । लाइपजिग समूहको दोस्रो स्थानमा रहेको छ ।
पीएसजीले भने ३ खेलमा ३ अंक जोडेको छ । यो हारसँगै पीएसजीको समूह चरणबाट बाहिरिने खतरा समेत बढेको छ ।
यस्तै समूहको अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई इस्तानबुल बासाकसेरले २-११ ले नै हराएको छ ।

टर्किस क्लबको जितमा डेम्बा बा र इडिन भिस्काले एक एक गोल गरे । युनाईटेडका एन्थोनी मार्सियलले एक गोल फर्काए ।
युनाईटेडको यो समूह चरणमा पहिलो हार हो । ३ खेलमा ६ अंक जोडेको युनाईटेड समूहको शीर्ष स्थानमा रहेको छ ।
इस्तानबुल ३ खेलमा ३ अंक जोडेर समूहको पुछारमा रहेको छ ।