एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले पहिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिली युवा स्टार रोड्रिगोले रियल मड्रिडका लागि विजयी गोल गरे ।
रियललाई सुरुवाती अग्रता करिम बेन्जिमाले दिलाएका थिए । टोनी क्रुसले उपलब्ध गराएको पासमा बेन्जिमाले गोल गरेका हुन् । कप्तान तथा डिफेन्डर सर्जियो रामोसले रियलको अग्रता दोब्बर बनाउने काम गरे ।
त्यसपछि लगातार दुई गोल गर्दै इन्टर खेलमा फर्कियो । लौटारो मार्टिनेज र इभान पेरिसिकले गोल गर्दै इन्टरलाई खेलमा फर्काएका थिए ।
खेल सकिन १० मिनेट बाँकी छदाँ रोड्रिगोले रियलका लागि विजयी गोल गरे । भिनिसियस जुनियरको पासलाई सदुपयोग गर्दै रोड्रिगोले गोल गरेका थिए ।
च्याम्पियन्स लिग फुटबलमा रियलले यस सिजन पहिलो जित दर्ता गरेको हो ।
समूह बीकै अर्को खेलमा मोन्चेनग्लाडवाचले शख्तरलाई ६–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो । जर्मन क्लबको जितमा अलासाने प्लेले एक गोल गरे ।
ला लिगा महारथी रियल मड्रिडले ३ खेलबाट ४ अंक जोडेको छ । समूह तालिकामा रियल मड्रिड शीर्ष स्थानको बोरुसिया मोन्चेग्लाडवाच र शख्तर डोनेस्क भन्दा पछि रहँदै तेस्रो स्थानमा छ । इन्टर २ अंक सहित तालिकाको पुछारमा छ ।