एजेन्सी । साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा आज अस्ट्रियन क्लब साल्जबर्गसँग खेल्दैछ ।
जर्मन क्लब बायर्नले समूह चरणको तेस्रो खेलमा साल्जबर्गसँग उसैको मैदानमा खेल्नेछ । बायर्न र साल्जबर्गबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
साल्जबर्गको मैदानमा अपराजित बायर्न लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
समूह 'ए' मा रहेको बायर्नले २ खेलमा ६ अंक जोडेको छ । समूहको शीर्ष स्थानमा रहेको बायर्नले पहिलो खेलमा एट्लेटिको मड्रिडलाई ४-० ले हराएको थियो ।
यस्तै दोस्रो खेलमा बायर्नले लोकमोटिभ मस्कोलाई २-१ ले हराएको थियो ।
साल्जबर्ग भने पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा साल्जबर्गले मस्कोसँग २-२ गोलको बराबरी खेलेको थियो । तर, दोस्रो खेलमा एट्लेटिको मड्रिडसँग ३-२ ले पराजित भएको थियो ।
साल्जबर्ग १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा एट्लेटिकोले मस्कोसँग खेल्नेछ ।
च्याम्पियन्स लिग अन्तर्गत नै समूह 'सी' को म्यानचेस्टर सिटीले ओलम्पियाकोससँग घरेलु मैदानमा खेल्नेछ ।
सिटी २ खेलमा २ जितसहित ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । सिटी लगातार तेस्रो जितको खोजीमा रहेको छ ।