एजेन्सी । वेल्स फुटबल टिमका मुख्य प्रशिक्षक रायन गिग्स सोमबार पक्राउ परेका छन् ।
आफ्नी प्रेमिकामाथि आक्रमण गरेको आरोपमा गिग्स पक्राउ परेका हुन् ।
ग्रेटर म्यानचेस्टरका प्रहरीले महिलालाई आक्रमण गरेको आरोपमा गिग्सलाई मध्ये राति पक्राउ परेको पुष्टि गरेको छ ।
प्रहरीले गिग्सको आक्रमणमा एक महिलालाई सामान्य चोट लागेको समेत जनाएको छ । तर, प्रहरीले उनलाई उपचारको आवश्यकता नरहेको समेत बताएको छ ।
म्यानचेस्टर युनाइटेडका पूर्व महान खेलाडी गिग्सले भने आरोपलाई खण्डन गरेका छन् । उनले आफूमाथि लागेको आरोप अस्विकार गरेका छन् ।
गिग्सले एक विज्ञप्ति निकाल्दै आफु प्रहरीसँग मिलेर काम गरिरहेको र अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।
गिग्स पक्राउ परेपछि वेल्स फुटबल एसोसिएसनले राष्ट्रिय टिमको घोषणा र मैत्रीपूर्ण खेलबारेको पत्रकार सम्मेलन स्थगित गरेको छ ।
नेसन्स लिग खेलिरहेको वेल्सले अमेरिकासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
यस्तै वेल्स फुटबलले विज्ञप्ति निकाल्दै गिग्समाथि लागेको आरोपप्रति एसोसिएसनको ध्यानाकर्षण भएको जनाएको छ ।