एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत स्पेनिस क्लब रियल मड्रिडले आज इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ ।
रियलले घरेलु मैदानमा इटालियन क्लबलाई आथित्यता प्रदान गर्नेछ । रियल र इन्टरबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा इन्टरविरुद्ध मैदान उत्रदा रियल निकै दबाबमा हुनेछ । किनकी रियललाई समूह चरणबाटै बाहिरिने खतरा देखिएको छ ।
समूह 'बी' को रियलले २ खेलमा मात्र १ अंक जोडेको छ । र, तालिकाको पुछारमा रहेको छ ।
घरेलु मैदानमा रियल पहिलो जितको खोजीमा समेत हुनेछ । अर्को चरण पुग्ने सम्भावना जीवित राख्न पनि रियललाई जित्नै पर्ने दबाब छ ।
च्याम्पियन्स लिगकै सर्वाधिक सफल टिम रियल पहिलो खेलमा युक्रेनी क्लब शाख्तर डोनेक्ट्ससँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।
दोस्रो खेलमा रियलले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २-२ गोलको बराबरी खेलेको हो ।
इन्टर पनि रियललाई हराएर पहिलो जित निकाल्न चाहन्छ । समूहको तेस्रो स्थानमा रहेको इन्टरले अघिल्ला दुबै खेलमा बराबरी खेलेको थियो ।
पहिलो खेलमा मुन्छेनग्लाडबाखसँग २-२ गोलको बराबरी खेलेको इन्टरले दोस्रो खेलमा शाख्तरसँग गोलरहित बराबरी खेलेको थियो ।
इन्टरले २ खेलमा २ अंक जोडेको छ ।
तर, इन्टरका मुख्य खेलाडी रोमेलु लुकाकुले रियलविरुद्धको खेल गुमाउने छन् । थाई चोटको कारण उनले रियलसँगको खेल खेल्ने छैनन् ।
यसै समूहको अर्को खेलमा शीर्ष स्थानको शाख्तरले मुन्छेनग्लाडबाखसँग खेल्नेछ ।