एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाईटेडमाथि शानदार जित निकालेको छ ।
सोमबार राति घरेलु टोली लिड्समाथि लेस्टरले ४–१ गोल अन्तरको जित निकालेको हो ।
लेस्टरको जितमा यूरी टाइलेमेनले दुई तथा जेमी भार्डी र हार्वे बार्न्सले एक–एक गोल गरे ।
दोस्रो मिनेटमा बार्न्सकाे गोलमा लेस्टरले खेलमा अग्रता बनाएको थियो । भार्डीले उपलब्ध गराएको पासमा बार्न्सले लेस्टरलाई अघि बढाएका थिए ।

टाइलेमेनले २१ औं मिनेटमा लेस्टरको अग्रता दोब्बर बनाउने काम गरे । भार्डीले हेडमार्फत प्रहार गरेको बललाई गोलकिपरले पञ्च गर्दै फर्काएपछि साेही बललाई टाइलेमेनले पोस्टको दिशा दिएका थिए ।
५० औं मिनेटमा घरेलु टोलीका स्टुअर्ट डलासले खेल २–१ को स्थितीमा ल्याएका थिए । भार्डीले ७६ औं मिनेटमा लेस्टरका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै टाइलेमेनले लेस्टरलाई ४–१ को शानदार जित दिलाए ।

जित सहित लेस्टर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लगातार चार खेलमा जित निकाल्दै लेस्टरले ७ खेलबाट १५ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको १६ अंक छ । लिड्स १० अंक सहित १२ औं स्थानमा छ ।
अर्को खेलमा फुल्हमले प्रिमियर लिगमा पहिलो जित निकाल्यो । उसले घरेलु मैदानमा वेस्ट ब्रोमलाई २–० ले पराजित गर्यो । फुल्हमको जितमा बाबी डेकोर्डोवा रिड र ओला आइनाले एक एक गोल गरे ।
पहिलो जित निकाल्दै फुल्हम ४ अंक सहित रेलिगेशन क्षेत्र भन्दा माथि उठ्यो । वेस्ट ब्रोम ३ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा रह्यो ।