एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुलले तीन अंकको अग्रता बनाएको छ ।
एनफिल्डमा भएको खेलमा लिभरपुलले २–१ को पुनरागमन जित निकाल्यो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिएगो जोटाले पुन एक पटक गोल गरेपछि लिभरपुल विजयी बनेको हो ।
पाहुना टोलीका पाब्लो फोर्नल्सले सुरुवाती दशौं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

मोहमद सलाहाले ४२ औं मिनेटमा पेनाल्टी गोलमार्फत लिभरपुललाई बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी छदाँ जोटाले लिभरपुलका लागि विजयी गोल गरे ।
जर्दान साकिरीको चलाखीपूर्ण पासमा जोटाले गोल गर्न सफल भए । जोटा यसै सिजन ४१ मिलियन पाउण्डमा उल्भ्सबाट लिभरपुल आएका हुन् ।

लिभरपुलले एनफिल्डमा ६३ लिग खेलमा अपराजित रहने कीर्तिमानी बराबरी गरेको छ । यसअघि सन् १९७८ देखि १९८१ मा क्लबले सो कीर्तिमान बनाएको थियो ।
लिभरपुल गत सिजनपछि पहिलो पटक प्रिमियर लिगको तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । एनफिल्ड क्लबले छिमेकी क्लब एभर्टनसंग तीन अंकको अग्रता लिएको छ ।
लिभरपुलको ७ खेलबाट १६ अंक छ । वेस्ट ह्याम ८ अंक सहित १३ औं स्थानमा छ ।