एजेन्सी । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा शनिबार राति एसडी हुयस्कालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।
रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । यस्तै इडेन हाजार्ड र फेड्रिको भाल्भर्डेले एक एक गोल गरे ।
हुयस्काका डेभिड फेरिरियोले एक गोल फर्काए ।

पहिलो हाफको ४० औं मिनेटमा हाजार्डको गोलबाट रियलले अग्रता बनाएको थियो ।
चोट मुक्त हुँदै सिजनको पहिलो लिग खेल खेलेका हाजार्डले पहिलो खेलमै गोल गरेका हुन् ।
खेलको ४५ औं मिनेटमा बेन्जिमाले गोल गर्दा रियलले २-० को अग्रता बनायो ।
खेलको ५४ औं मिनेटमा फेड्रिकोले गोल गर्दै रियलको अग्रता ३-० को बनाए ।

खेलको ७५ औं मिनेटमा पाहुना टोलीका डेभिडले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ७ खेलमा १६ अंक जोडेको छ ।
रियलले सोसिडाडलाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो ।
हुयस्का ८ खेलमा ५ अंक जोडेर तालिकाको १८ औं स्थानमा रहेको छ ।

