एजेन्सी । इटालियन क्लब एसी मिलानले युरोपा लिग फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।
समूह 'एच' मा रहेको मिलानले बिहीबार राति स्पार्टा प्राग्वेलाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
घरेलु मैदानमा ब्राहिम डियाजले २४ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
खेलको ३६ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले पेनाल्टीमा गोल गर्न नसक्दा मिलान अग्रता दोब्बर बनाउनबाट चुक्यो ।
इब्राहिमोविचको पेनाल्टी प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो ।
तर, ५७ औं मिनेटमा राफेल लिओले गोल गर्दै मिलानलाई २-० अग्रता दिलाए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा डिएगो डालोटले गोल गर्दै मिलानलाई ३-० को जित दिलाए ।
जितसँगै मिलानले २ खेलमा ६ अंक जोडेको छ । मिलान तालिकाको शीर्ष स्थानमा रहेको छ ।
मिलानले पहिलो खेलमा सेल्टिकलाई ३-१ ले हराएको थियो ।
यसै समूहको अर्को खेलमा सेल्टिक र लिलले २-२ गोलको बराबरी खेलेका छन् ।
अर्को इटालियन क्लब नापोलीले स्पेनिस क्लब रियल सोसिडाडलाई १-० ले पराजित गरेको छ ।
रोमा भने सीएसकेए सोफियासँग गोलरहित बराबरीमा रोकिएको छ ।