एजेन्सी । लण्डन क्लब चेल्सीका सेन्टर डिफेन्डर थियागो सिल्भा वर्नलीविरुद्धको खेलमा उपलब्ध हुने भएका छन् ।
शनिबार लण्डन क्लब चेल्सी प्रिमियर लिग फुटबलमा वर्नलीको भ्रमणमा निस्कदैछ । च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा आराम गरेका सिल्भा प्रिमियर लिगको आगामी खेलमा देखिने भएका हुन् ।
प्रशिक्षक फ्राङ्क लाम्पार्डले सिल्भाबारे पुष्टि गर्दै उनी प्रिमियर लिगको खेलमा देखिने बताएका छन् ।
ब्राजिलियन सिल्भा फ्रि ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट चेल्सी आएका हुन् । चेल्सी प्रशिक्षक लाम्पार्डलाई ३६ वर्षिया सिल्भालाई सचेत रुपमा खेलाउन चाहन्छन् ।
‘थियागो फिट छन् । उनलाई आराम दिन रसिया भ्रमणबाट बाहिर राखिएको थियो ।’ लाम्पार्डले भने ।
‘उनले खेल्न सकेपनि अगाडीका लागि राख्न आवश्यक थियो । जो हाम्रो सामुन्ने छ ।’ उनले भने ।
‘म यो सुनिश्चित गरिरहेको छु, सिजनको अन्तिमसम्म उनीबाट सर्वश्रेष्ठ हासिल गर्न सकियोस ।’ उनले थपे ।
चेल्सीका स्पेनिस गोलकिपर किपा अरिजाब्लागा चोटबाट मुक्त हुने प्रयास गरिरहेका छन् । चेल्सीसंग चोटको अन्य कुनै समस्या छैन । लाम्पार्ड भने रसियाको भ्रमणबाट खेलाडीहरु थोरै थाकेको बताएका छन् ।
४२ वर्षिया प्रशिक्षक लाम्पार्डले नयाँ विङ्कर हाकिम जियचको प्रशंसा समेत गरे । मोरक्कोका अन्तराष्ट्रिय खेलाडीले रसियन क्लबविरुद्ध चेल्सीबाट पहिलो गोल गरेका थिए ।
चेल्सी प्रिमियर लिगको दशौं स्थानमा छ । चेल्सीले ६ खेलबाट मात्र ९ अंक बटुलेको छ । वर्नली भने तालिकाको पुछारदेखि तेस्रो स्थानमा छ ।