एजेन्सी । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।
एनफिल्डमा मंगलबार राति भएको खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २-० ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहमद सलाहले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले दुबै गोल गरेको थियो ।
खेलको ५५ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
मिद्त्जील्यान्डका पाउलिन्होले सलाहलाई आफ्नो पेनाल्टी क्षेत्रमा फउल गरेपनि लिभरपुलले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो ।
जितसँगै लिभरपुलले समूह 'डी' मा २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जित निकालेको लिभरपुल शीर्ष स्थानमा समेत उक्लिएको छ ।
पहिलो खेलमा लिभरपुलले डच क्लब आयाक्सलाई १-० ले पराजित गरेको थियो ।

लगातार दुई हार व्यहोरेको मिद्त्जील्यान्ड पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा आयाक्स र एटलान्टाले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
एटलान्टा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । आयाक्सले २ खेलमा १ अंक जोडेको छ ।
