काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङले पुन: भारतीय क्लब पन्जाबबाट खेल्ने भएका छन् ।
नेपाली राष्ट्रिय टोलीका कार्यवाहक कप्तान समेत रहेका किरणले पन्जाबसँग थप एक सिजन रहने गरी नयाँ सम्झौता गरेका छन् ।
भारतको शीर्ष डिभिजनको आईलिग क्लब पन्जाबले सोमबार सामाजिक संजाल फेसबुकबाट किरणले सम्झौता नवीकरण गरेको जनाएको छ ।
किरणसँगको नयाँ सम्झौतापछि पन्जाबले खुशी व्यक्त गरेको छ ।
'उहाँ रहनु हुन्छ । विदेशी स्टार गोलकिपर र नेपाली राष्ट्रिय टिमका गोलकिपर किरणले क्लबसँग अर्को सिजनको लागि आफ्नो अनुबन्ध विस्तार गरेको घोषणा गर्न पाउदा हामी खुशी छौँ,' क्लबले लेखेको छ ।
किरणले गत सिजन पन्जाबबाट खेलेका थिए ।
त्यसअघि किरणले सन् २०१७/१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । त्यस सिजन पन्जाबले आई लिग जितेको थियो ।
