एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डेजन कुलुसेभास्कीले गोल गरेपछि युभेन्ट्स हारबाट जोगिएको हो ।
खेलको ४५ औं मिनेटमा युभेन्ट्सका अल्भारो मोराटाले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट रेफ्रीले उनको गोललाई अफसाइड दिएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा आन्द्रे फाभिलीले गोल गर्दै भेरोनालाई १-० को अग्रता दिलाए ।
तर, डेजनले ७८ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए । उनी खेलको ६१ औं मिनेटमा फेड्रिकोको स्थानमा मैदान प्रवेश गरेका थिए ।
घरेलु मैदानमा बराबरीमा रोकिएसँगै युभेन्ट्सले ५ खेलमा ९ अंक जोडेको छ । युभेन्ट्स पाँचौं स्थानमा रहेको छ ।
भेरोना ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।